काठमाडौं । भारतमा उत्पादन हुने तीन इलेक्ट्रीक एसयूभी बजारमा आउने भएका छन् । सुजुकी, टाटा र महिन्द्राले भारतमा उत्पादन गरेको ईभी बजारमा आउने भएको हो ।
यी तीनवटै ब्राण्डले भारतमा बिक्री सुरू गरेको केही महिना भित्रै ती ईभीहरू नेपाली बजारमा पनि पठाउने छन् । कम्पनीहरूले नयाँ ईभी बजारमा ल्याउने मिति नै घोषणा गरिसकेका छन् ।
जसमा सबैभन्दा पहिला महिन्द्राको एक्सईभी ९ एस मोडल बजारमा आउने छ । बिक्री सुरू हुने मिति घोषणा नभए पनि नोभेम्बर २७ तारिखमा यसलाई सार्वजनिक गर्ने मिति तय गरिएको छ । सम्भवतः २०२६ जनवरीबाट यसको बिक्री सुरू हुनेछ ।
महिन्द्राको इनग्लो प्लेटफर्ममा बनेको एक्सईभी ९ एस सात सिट क्षमताको एसयूभी हो । यसलाई महिन्द्राकै एक्सयूभी ७०० को इलेक्ट्रीक भर्सन जस्तो देखिएको छ ।

कम्पनीले नयाँ मोडलको डिटेल सार्वजनिक नगरे पनि फिचरको आधारमा एक्सईभी ९ ई जस्तै रहने अनुमान छ । ५९ र ७५ किलोवाट आवरको ब्याट्री अप्सनको साथ आउने नयाँ ईभीमा एडास लेभल टु रहने छ ।
सुजुकीले भारतमा उत्पादन भएको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ई-भिटारा डिसेम्बर २ तारिखमा लन्च हुने भएको छ । भारतमा उत्पादन गरेर युरोप निर्यात सुरू भइसकेको ई-भिटारा पनि दुई ब्याट्री अप्सनमा आउने छ । यसमा ४९ र ६१ किलोवाट आवरको ब्याट्री रहनेछ ।

भारतकै सबैभन्दा ठूलो कार निर्माताले बजारमा ल्याउने ई-भिटारा बहुप्रतिक्षित मोडल पनि हो । एसयूभी सेग्मेन्टमा यसले बलियो प्रभाव पार्ने अनुमान छ । नेपालमा भने मूल्यको कारण थप प्रतिस्पर्धा यसले भोग्नु पर्नेछ ।
टाटाको सियरा एसयूभीको पेट्रोल भर्सन नोभेम्बर २५ तारिकमै सार्वजनिक हुँदैछ । टाटा मोटर्सले सियराको इलेक्ट्रीक भर्सनको पनि तस्बिर सार्वजनिक गर्दै ईभी पनि तयार रहेको जनाउ दिएको हो । ईभीमा आउने सियरा एसयूभी टाटा कर्भभन्दा माथि र ह्यारीयर ईभीभन्दा तल रहने गरी बिक्री सुरू हुने अनुमान गर्न सकिन्छ ।

बक्सी डिजाइन, आकर्षक क्याबिन फिचर रहने सियरा ईभी नेपालका लागि पनि अर्को उत्कृष्ट प्रोडक्ट बन्न सक्छ । नेपालमा टाटाका ईभीको राम्रो बजार रहेको सन्दर्भमा सियरा ईभीले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ । टाटाले यसमा रहेको फिचर बारे जानकारी नदिए पनि ५५ र ६५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा सियरा आउने अनुमान गर्न सकिन्छ ।

