काठमाडौं । चीनकै ठूलो मध्येको एक मानिने ग्वाङ्झाउ अटो शो आगामी २१ तारिखबाट सुरु हुँदैछ । चीनको ब्यापारीक केन्द्र मानिने ग्वाङ्झाउमा बिभिन्न कम्पनीका ९३ नयाँ मोडल सार्वजनिक हुने भएका हुन् ।
उक्त अटो शोमा नोभेम्बर २१ तारिख मिडिया डेको रुपमा छुट्टाइएको छ भने २२ तारिखबाट सबैलाई अबलोकनको लागि खुला हुनेछ । आयोजकका अनुसार अटो शोमा १ हजार ८५ गाडी प्रदर्शनीमा हुनेछ । जसमा ६२९ युनिट न्यू इनर्जी भेहिकल हुने आयोजकको दावी छ ।
ग्वाङ्झाउ अटो शोमा विश्वका ठूला कार निर्माताको सहभागिताले थप बलियो बनाएको छ । जहाँ बीएमडब्लू, मर्सिडिज, अउडी, फक्सवागेन, फोर्ड, जनरल मोटर्स, टोयोटा, होन्डा, निसान र किया जस्ता ब्राण्ड रहने छन् ।
चिनियाँ कार ब्राण्डहरु नियो, एक्सपेङ, साओमी, ली अटो जस्ता स्टार्टअप कम्पनी पनि सहभागि हुनेछन् । यसका अलावा चीनका ठूला कार निर्माता बीवाइडी, चेरी, जिली, चांगान जस्ता ब्राण्ड पनि हुनेछन् ।
यी बाहेक पनि थुप्रै ब्राण्डले सहभागिता जनाउने छन् । यी सम्पूर्ण कम्पनीले मिलाएर ९३ नयाँ मोडल सार्वजनिक हुने भएको हो ।

