काठमाडौं । सरकारले देशकै लाइफ लाइन (पूर्व-पश्चिम) महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नति गरिरहेको छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म पुग्ने १०२७ किलोमिटर लामो यो सडक एशियाली मापदण्डको बनाउन लागिएको हो ।
पूरै सडक एकैचोटी स्तरोन्नति गर्न ठूलो बजेट आवश्यक पर्ने भएपछि सरकारले विभिन्न प्याकेजमा विभाजन गरी क्रमशः काम अघि बढाएको छ । अहिले पूर्वपश्चिम राजमार्गको ४९६ किलोमिटरलाई ५ खण्डमा ठेक्का लगाई धमाधम काम भइरहेको छ । यो राजमार्ग सहरी क्षेत्रमा कम्तीमा ६ लेन र अन्यत्र चार लेनमा विस्तार भइरहेको हो ।
हालसम्म काँकडभिट्टा-लौकही (९६ किमी), कमला-कञ्चनपुर (८६.८३ किमी), कमला-पथलैया (१३० किमी), नारायणघाट बुटवल (११४ किमी) र बुटवल-गोरुसिंगे-चन्द्रौटा (६९ किमी)को ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । अन्य खण्डमा पनि क्रमशः ठेक्का लगाइ काम अघि बढाइने सडक विभागले जनाएको छ ।
तीमध्ये नारायणगढ-बुटवल र कमला कञ्चनपुर सडकको विस्तारको करिब अन्तिम चरणमा पुगेको छ । यी दुवै सडकको दुईतिहाई बढी काम सकिएको छ । दुवै सडक चालु वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य छ । यी दुई सडकको कुल लागत पौने ३३ अर्ब रुपैयाँ रहेको छ ।
कुनको कति सकियो काम ?
पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत सबैभन्दा पहलिा ठेक्का लगाइएको खण्ड हो नारायणगढ-बुटवल सडक । ७ वर्षमा चौथो पटक म्याद थप्दा यस सडकको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । ११४ किमी सडकमध्ये हाल १०४ किमी खण्डमा दुईतर्फी कालोपत्र तथा ढलान र ७८ किमी चारलेनमा कालोपत्र भइसकेको छ । अब दाउन्ने क्षेत्रको करिब १० किमी सडक मात्र कालोपत्र हुन बाँकी छ ।
११३.५३ किमी लामो नारायणगढ-बुटवल सडकलाई नारायणगढ-दाउन्ने (पूर्वीखण्ड) ६५ किमी र दाउन्ने-बुटवल (पश्चिम खण्ड) ४८.५ किमी विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । यसको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नारायणगढ-बुटवल सडक योजना (पूर्वीखण्ड)का सूचना अधिकारी शिव खनालका अनुसार यस खण्डको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । कुल ६५ किमी सडकमध्ये ६१ किमी चार लेनमा कालोपत्र गर्नुपर्ने छ । कुल १३० किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा १२० किमी पूरा भएको छ । ४७ किमी चारलेनमै कालोपत्र सम्पन्न भएको उनले बताए ।
‘पूर्वीखण्डको ६५ किमीमध्ये अहिले ६१ किमीमा कालोपत्र सडकमा गाडी गुडाउन मिल्छ । दाउन्ने क्षत्रेमा ४ किमी र सबै पुलको मुखमुखमा गरी करिब २ किमी मात्र कालोपत्र हुन बाँकी छ,’ उनले मरोअटोसँग भने ।
दाउन्ने क्षेत्रको ४ किमीमध्ये २२०० मिटर ढलान र १८०० कालोपत्र गर्नुपर्नेछ । सोमध्ये ११०० मिटर ढलान भइसककेको उनले बताए । यस क्षेत्रको बाँकी काम धमाधम भइरहेको उनले बताए ।
उनका अनुसार पूर्वीखण्डका ३४ वटा पुलमध्ये ३२ वटा निर्माण सम्पन्न भइसकेको छन् । सम्पन्न भएका ३२ वटै पुल संचालनमा आएको उनले बताए । अब चोरमारा र अरुणखोला पुल मात्रै सम्पन्न हुन बाँकी छ । त्यस्तै, यसखण्डमा निर्माण गर्नुपर्ने २११ वटै कल्भर्ट निर्माण सम्पन्न भएको उनले बताए ।
४८.५ किमी लामो पश्चिम खण्डको हालसम्म ७३ प्रतिशत काम सकिएको आयोजनाका सूचना अधिकारी विकाश खनालले जानकारी दिए । उनका अनुसार दुवैतर्फगरी कुल ९७ किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म ७२ किमी सम्पन्न भएको छ । ३१.५ किमी क्षेत्रमा चार लेनमै कालोपत्र पूरा भएको छ । अब दाउन्ने क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा एकतर्फी कालोपत्र भइसकेको उनले बताए ।
उनका अनुसार दाउन्नेमा पश्चिमखण्डमा १० किमी सडक पर्छ । सोमध्ये ५ किमी ढलान र ५ किमी कालोपत्र गरिने छ । ५ किमी ढलान गर्नुपर्नेमा हालसम्म १७०० मिटरमा काम सकिएको उनले बताए । त्यस्तै, ५ किमी कालोपत्र गर्नुपर्नेमा ३ किमी सकिएको उनले बताए । पश्चिमखण्डका २५६ वटा कल्भर्टमध्ये २४४ वटा निर्माण सम्पन्न भइसकेको र १२ वटा निर्माणाधीन अवस्थामा रहेको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए ।
त्यस्तै, यसखण्डका ९ वटा ठूला पुलमध्ये सबै निर्माण सम्पन्न भइ संचालनमा समेत आइसकेको उनले बताए । ३८ वटा साना पुलमध्ये ३५ वटा बनिसकेको उनले बताए ।
२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको यस सडकको चौथोपटक थपिएको म्याद २०८३ साउन ७ गते सकिँदै छ । अहिले ठेकेदारले तीव्र गतिमा काम गरिरहेकाले उक्त समय अगावै सम्पन्न हुने आयोजनाका अधिकारीहरू बताउँछन् ।
कंचनपुर-कमला सडक
दुई लेनमा रहेको सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६.८३ किलोमिटर सडकलाई सहरी क्षेत्रमा ६ र अन्य क्षेत्रमा ४ लेनको बनाउन लागिएको हो । कुल १५ अर्ब ६६ करोड रुपैयाँ (भ्याट र पिससमेत) लागत रहेको यो सडक दुई खण्डमा ठेक्का लगाइएको छ । सप्तरीको कञ्चनपुरदेखि कुशहवासम्म ३९.४२ किलोमिटर (पूर्वीखण्ड) र सिरहाको बलानबाट कमलासम्म ४७.४१ किलोमिटर (पश्चिमखण्ड) रहेको छ ।
३ वर्षमा काम सक्ने गरी २०७७ कात्तिक १३ गतेदेखि सुरू गरिएको यस सडकको हालसम्म समग्रमा ६६ प्रतिशत काम सकिएको छ । यस सडकको दोस्रो पटक थपिएको म्याद २०८२ पुस १६ गते (२०२५ डिसेम्बर ३१) सकिँदै छ । दुवै खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुप’ले पाएको छ ।

हालसम्म यस सडकको समग्र भौतिक प्रगति ६६ प्रतिशत पुगेको छ । ३९.४२ किमी लामो पूर्वीखण्डको हालसम्मको भौतिक प्रगति ६४ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत पुगेको योजना प्रमुख निरज शाक्यले जानकारी दिए ।
दुईतर्फ गरी कुल ७४ किमी कालोपत्र गर्नुपर्नेमा हालसम्म ४० किमी सम्पन्न भएको उनले बताए । जसमा दाँयातर्फ २१ किमी र बाँयातर्फ १९ किमी रहेको । त्यस्तै, कालोपत्रका लागि करिब १५ किमीमा बेस र सबबेस राखिएको उनले बताए ।
‘पूवीखण्डमा दुईतर्फी गरेर ७४ किमी कालोपत्र गर्नुपर्छ । सोमध्ये ४० किमीमा सम्पन्न भइसकेको छ । अधिकांश बजार क्षेत्रमा कालोपत्रको काम सकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘थप १५ किमी सडक कालोपत्रको तयारी भइरहेको छ । बेस र सबबेस राखिएको छ । चाँडै कालोपत्र हुन्छ ।’
यसखण्डमा रहेका २९ मध्ये २८ वटा पुल निर्माण भइसकेको छ । सुन्दरी खोला पुलको ढलाइको काम भइसकेको उनले बताए । निर्माणको क्रममा तारखानामा थप एउटा पुल थपिएको उनले बताए । उक्त पुलको अहिले डिजाइन बनी स्वीकृतिको चरणमा रहेको उनले बताए ।
त्यस्तै, कल्भर्ट तर्फ सबै (११३ वटै) निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पूर्वीखण्डको रुपनीमा २ वटा ओभरपास निर्माण भइरहेको छ । योजना प्रखुम श्रेष्ठका अनुसार दुवै ओभरपासको ब्रिज स्ट्रक्चरको काम सकिएको छ । अहिले र्याम्प निर्माणका लागि आरई वाल लगाउने काम भइरहेको उनले बताए ।
पूर्वीको तुलनामा पश्चिम खण्डको भौतिक प्रगति थोरै बढी छ । पश्चिम खण्डका योजना प्रमुख उज्ज्वल श्रेष्ठका अनुसार हालसम्म भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ५५ प्रतिशत पुगेको उनले बताए ।
उनका अनुसार ४७ किमीमध्ये हालसम्म ३२ किमी चारलेनमा कालोपत्र सकिएको छ । जसमा बाँयातर्फ ३५.२४ किमी र दायाँतर्फ २८ किमी रहेको छ । ‘दुवैतर्फ गरी कुल ४७ किमी सडक कालोपत्र गर्नुपर्छ । सोमध्ये हालसम्म दायाँबाँया दुवैतर्फ गरी ३२ किमी चारलेनमा कालोपत्र भएको छ । धेरैजसो बजार क्षेत्रमा कालोपत्र भएको छ । गोलबजारमा भने बाँकी छ,’ उनले मेरोअटोसँग भने, ‘कालोपत्र गर्न बाँकी क्षेत्रमा पनि सबबेस राख्ने काम लगभग सकिएको छ ।’

पुलतर्फ २५ वटै पुल निर्माण सकिएको उनले बताए ।तीमध्ये १३ वटामा गाडी गुड्न थालिसकेको उनले जानकारी दिए । यस खण्डमा ११५ वटा कल्भर्ट बनाउनुपर्नेमा ११२ वटा सम्पन्न भएको उनले बताए । ३ वटा भने डिजाइन गरिए पनि आवश्यक नदेखिएकाले नबनाइने भएको उनले बताए ।
त्यस्तै, पश्चिम खण्डमा ६ वटा ओभरपास निर्माण भइरहेको छ । योजना प्रमुख श्रेष्ठका अनुसार लहानमा ४, गोलबजार, मिर्चैयामा १/१ वटा ओभरपास निर्माण भइरहेको छ ।
लहानको ४ मध्ये ३ ओभरपासको ब्रिज स्ट्रक्चर निर्माण भइसकेको छ भने एउटाको फाउन्डेसनको पाइलको काम भइरहेको उनले बताए ।
त्यस्तै, मिर्चैयाको फाउण्डेसन निर्माण सकी आरई वाल लगाउने काम भइरहेको छ । स्थानीयसँगको विवादले गोलबजारको भने काम सुरू हुन सकेको छैन । पहिला सडकको दुवैतर्फ एक एक वटा ओभरपास बनाउने डिजाइन गरिएको थियो । उक्त स्थानमा अहिले बीचको लेनमा एउटा मात्रै बनाउन स्थानीय र नगरपालिका अग्रह गरेकाले नयाँ डिजाइनको काम अन्तिम चरणमा पुगेको उनले बताए । यहीखण्डको बन्दीपुरमा एउटा एनिमल क्रसिङ पनि बन्दैछ ।
आयोजनाको झण्डै दुईतिहाई काम सम्पन्न हुन लागदा समेत साइट क्लियरेन्सको काम भने सकिएको छैन । व्यक्तिगत घर, बिजुलीका पोल र ट्रान्फर्मर हटाउन बाँकी रहेका छन् । यस आयोजनाको अन्तिम पटक थपिएको म्याद आगामी पुस १६ गते सकिँदै छ ।


