काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा पेट्रोलियम पद्धार्थबाट चल्ने (आइसीई) कारको आयातमा उछाल आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ४ महिना (साउन-कात्तिक)को तथ्यांक अनुसार पेट्रोल कार, जीप, भ्यान आयात गत वर्षको तुलनामा ५४.२५ प्रतिशतले बढेको हो ।
४ महिनामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६५ युनिट कम्बस्चन कार आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८६७ युनिट धेरै हो । गत वर्ष ४ महिनामा कुल १ हजार ५९८ युनिट पेट्रोल कार आयात भएको थियो ।
चालु आवमा कम्बस्चन कार आयातबाट सरकारले ५ अर्ब ९ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवमा कुल कार आयातमा पेट्रोल कारको हिस्सा बढेको छ । ४ महिनामा कुल ५ हजार ६६८ युनिट कार आयात हुँदा आइसीई कारको हिस्सा ४३.४९ प्रतिशत पुगेको छ । जबकि, विगतमा ईभी र कम्बस्चन कारको हिस्सा ६५/३५ प्रतिशत हुने गथ्र्यो ।
बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । साथै, ईभी आयात प्रभावित हुँदा पनि कम्बस्चनको आयात बढ्न केही सहयाेग पुगेकाे हाे ।
हुन्डाईको एक्लैको आधा हिस्सा
चालु वर्ष कम्बस्चन कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ४ महिनामा कुल २३३६ युनिट इन्धन कार आयात हुँदा ५०.५० प्रतिशत हिस्सा हुन्डाई एक्लैको रहेको छ ।
विभागको तथ्यांक अनुसार ४ महिनामा १ हजार २४५ युनिट चारपाँग्रे अनएसेम्बल सवारी आयत भएको छ । नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


