काठमाडौं । सहरका बाटोहरु जेलिएका हुन्छन् । चोकहरु धेरै हुन्छन् । हिँडिरहेकाहरुले त कुन बाटो कता जाने हो मेसो पाउलान् । तर नयाँ आउनेहरुका लागि यस्ता बाटाहरु उस्तै र उत्रै लाग्छन् र अनि अलमलमा पर्छन् आफ्नो गन्तव्य दायाँ हो वा बायाँ वा अगाडी । त्यसैले सहरका बाटोहरुमा संकेत चिन्हहरु राखिएका हुन्छन् ।
विगतमा काठमाडौंका सडकमा रादिएका संकेतहरु स्पस्ट र देखिने खालका थिएनन् । पुराना हुनु र त्यसलाई परिवर्तन नगरिनुले मानिसहरुलाई असहज बनाएको थियो । तर पछिल्लो समय सडक चोकहरुमा रहेका संकेतहरु स्पस्ट र देखिनेमात्र छैनन् ती स्मार्ट पनि छन् । उनीहरुले यसलाई स्मार्ट स्ट्रिट साइन अर्थात स्मार्ट सडक संकेत भनेका छन् ।
सडक तथा सहरका चोकहरुलाई सुन्दर बनाई स्मार्ट संकेतहरुको निर्माण एड गुरु कम्पनीले गरिरहेको छ । सो कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग सम्झौँता गरेर चोकहरुमा स्मार्ट संकेत राखिरहेको छ ।
दुई युवा प्रवेश पन्थी र सौरभ रिमाल मिलेर सहरलाई राम्रो बनाउन के गर्न सकिन्छ भन्ने छलफल गरेर स्मार्ट संकेतमा काम गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेपछि एड गुरु कम्पनी स्थापना गरे, अनि काम थाले ।
आठ महिना अघिदेखि उनीहरुको कम्पनी एड गुरुले काटमाडाैं महानगरपालिका भित्र नक्साल, महाराजगञ्ज, लैनचौर, न्यूरोड, एयरपोर्ट, चाबहिल, केशरमहललगायतका स्थानमा यस्तो स्मार्ट संकेत राखिसकेका छन् । त्यस्तै ललितपुर महानगरका पनि विभिन्न स्थानमा स्मार्ट संकेत राख्ने काम भइरहेको छ ।
सहरलाई आकर्षक र स्मार्ट बनाउन के गर्न सकिन्छ भन्ने सोचेर आफूहरुले स्मार्ट संकेत राख्ने निष्कर्षमा पुगेको एड गुरुका को–फाउन्डर तथा क्लाइन्ट रिलेसन डाइरेक्टर सौरभ रिमालले बताए । ‘हामी समाजलाई केही योजदान पनि पुगोस र व्यवसाय समेत होस् भनेर पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा काम गरि रहेका छौं,’ रिमालले भने, ‘यसरी काम गर्न हामीले काठमाडौं र ललितपुर महानगरसँग सम्झौता गरेका छौं ।’
स्मार्ट संकेतहरु कहाँ राख्ने, कसरी राख्ने, त्यसको आकार कस्तो हुनेलगायत विषय टुंग्याएर राख्न थालिएको रिमालको भनाई छ । स्मार्ट संकेत राखिने पोलमा केही विज्ञापन राख्ने स्पेश भएको र त्यसबाट लगानी उठ्ने अपेक्षा गरिएको उनले बताए ।
‘सुरुमा त हामील आफैले लगानी गरि रहेका छौं,’ रिमालले थपे, ‘विस्तारै लगानी उठ्दै जाला तर हाम्रो प्राथमिकता सहरका सडक सुन्दर होउन र संकेतहरु स्पष्ट होउन् भन्ने हो ।’
उक्त स्मार्ट संकेतहरु रातिको समयमा समेत देखिने छन् । सोलारबाट संकेतहरु चम्किलो हुने व्यवस्था मिलाइएको रिमालले बताए । यसका साथै एड गुरुको लक्ष्य स्मार्ट संकेत राखिएको पोलमा ट्राफिक व्यवथापनमा सहयोग पुग्ने हिसाबले इलेक्ट्रीक स्क्रृनमा रियल टाइम ट्राफिकको जानकारी दिने गरि स्क्रोल हुने व्यवस्था मिलाइने छ ।
अहिले इलेक्ट्रोनिक डिस्प्लेमा सूचनामुलक जानकारीहरु राखिएको र यसलाई रियल टाइम ट्राफिकको अवस्था बारे जानकारी दिने योजना रहेको रिमालले बताए । यसले आफू जाँदै गरेको रुटमा जाम भए अर्को वैकल्पिक रुट प्रयोग गर्न सवारी चालकहरुलाई सहज हुने उनको भनाई छ ।
समग्रमा सहरी सुन्दरता कायम गर्दै स्पष्ट संकेत चिन्ह मार्फत महानगरलाई स्मार्ट बनाउने योजना एड गुरुको छ । याे कार्यमा काठमाडाैं तथा ललितपुर महानगरका जनप्रतिनिधिहरुले राम्रो सहयोग गरि रहेको रिमालले बताए ।


