४० देखि ५० लाख मूल्यका ईभीमा तीव्र प्रतिस्पर्धा, थपिँदै नयाँ मोडल

काठमाडौं । विद्युतीय कारको बजार नयाँ ढंगबाट अगाडि बढ्दै छ । विद्युतीय कारको बजार धेरै हदसम्म मूल्यले निर्धारण गर्दै आएको पाइन्छ ।

कुनै समय ठूला ईभीको मूल्य ५० लाखदेखि ६० लाख रुपैयाँ थियो । तर, बीवाइडीको एटो थ्री र दीपल एस-०७ आएसँगै बजार तन्केर ७५ लाख रुपैयाँसम्मका ईभी धेरै बिक्री हुनेमा पर्यो ।

अहिले आएर बजार ४० देखि ५० लाख भित्र निकै ठूलो र फराकिलो बन्दै गएको देख्न सकिन्छ । बजारमा एमजी एस फाइभले यो सेग्मेन्टमा ठूलो धक्का दियो । एमजी एस फाइभको ४३ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजारसम्मको कारले बजार पाउन थालेसँगै अन्य प्रतिस्पर्धी धमाधम थपिए ।

अहिले ४० लाखदेखि ५० लाखको सेग्मेन्टमा नामी भिगो (नामी-०६) एसयूभीदेखि बीवाइडी एटोसम्मका प्रोडक्ट यही मूल्य भित्र रहनेगरी बजारमा आए । अल्लि अगाडि ५७ लाख मूल्य तोकेर बिक्री भएको प्रोटोन इमास सेभेन अहिले आएर ४७ लाखमै पाउन थालियो । यसको मूख्य कारण मूल्य नै हो ।

अझ पछिल्लो दिनमा आएका दीपल एस-०५ को इन्ट्री भेरियन्ट र लीपमोटर बी-१० को इन्ट्री भेरियन्ट समेत ५० लाखभन्दा कम मूल्यमा नै उपलब्ध छन् । यी दुवै मोडल दशैं अगाडि नेपाल आएका हुन् ।

यही सेग्मेन्टमा केई एक्स थ्री प्रो, टाटा नेक्सन केथ्री जस्ता मोडल पनि उपलब्ध छन् । चालु आर्थिक वर्षको तथ्यांक अनुसार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध ५० लाखभन्दा कम मूल्यका कारको आयात निकै राम्रो देखिएको छ ।

थपिँदै नयाँ प्रतिस्पर्धी

बजार तीव्र गतिमा विस्तार हुँदै जाँदा नयाँ प्रतिस्पर्धीहरू पनि थपिँदै गइरहेका छन् । छिट्टै यही मूल्य भित्र रहने गरी आइकार भी-२३ बजारमा आउँदै छ । यही डिसेम्बरको अन्तिम साताबाट आइकार भी-२३ को बिक्री सुरू हुँदैछ ।

आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले भी-२३ को मूल्य ४७ लाखभन्दा कम हुने घोषणा यसअघि नै गरिसकेको छ ।

आफ्नो नयाँ मोडल यही सेग्मेन्टमा ल्याउने गरी लीपमोटर र दीपलले तयारी गरिरहेका छन् । चीनमा लगभग तयार रहेको दुवै ब्राण्डका उत्पादन आगामी सेप्टेम्बर महिनासम्ममा नेपालमा बिक्री सुरू हुनेछ ।


Back_to_top