काठमाडौं । नामी भिगो नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो । ‘नाडा अटो शो २०२५’बाट बजारमा ‘डेब्यु’ गरेको भिगो अहिले सडकमा राम्रै संख्यामा देखिन थालेको छ ।
मैले उपत्यका आसपासको क्षेत्रमा यसअघि पनि नामी भिगो चलाएर हेरेको थिए । कम्प्याक्ट एसयूभी भएकै कारण सहरी क्षेत्रमा चलाउन समस्या नै भएन । तर, यसको लामो ड्राइभ गर्ने योजना अनुसार उपत्यका बाहिर जाने निधो गरेँ ।
विद्युतीय कार टेस्ट ड्राइभ गर्दा धेरै बिक्रेताले रेन्ज आफ्नो गाडीले धेरै दिएको सुन्न र सुनाउन मन पराउँछन् । उनीहरूको चाहना अनुसार टेस्ट ड्राइभ गर्नेको ध्यान रेन्ज बढीभन्दा बढी निकाल्नै केन्द्रित हुन्छ । धेरै रेन्ज निकाल्ने चक्करमा गाडी चलाउँदा साँचै गाडीको अवस्था भने बुझ्न सकिँदैन । त्यसको ड्राइभिङ कम्फर्ट, ब्रेकिङ, बडीको स्थिरपना लगायतका विषय छाँयामा पर्छ ।
मैले नामी भिगोलाई काठमाडौंदेखि पोखरा र फर्कँदा नुवाकोट हुँदै काठमाडौं रुटमा चलाएँ । त्यसमा मेरो ध्यान पूरै गाडी पर्फमेन्स थाहाहोस् भन्ने सोचे । रेन्ज मेरा लागि गौण विषय थियो ।
काठमाडौंको सीतापाइलाबाट धार्के, गल्छी हुँदै आँबुखैरेनीसम्मको बाटो तपाईं नै अनुमान गर्न सक्नुहुन्छ । अझ, गल्छी–कुरिनटारसम्मको बाटोको अवस्था दयनीय नै छ । यो बाटोलाई कुनै पनि कोणबाट हाइवे भन्नै नसक्ने अवस्था छ । बाटो विस्तार र निर्माणको काम चलिरहेको छ । त्यसैले यहाँ गाडी चलाउनुको मज्जा लिन सकिँदैन ।

खाल्डाखुल्डीले भरिपूर्ण सडकमा गाडीको पर्फमेन्स हेर्न राम्रो हुने र आँबुखैरहनीबाट पोखरासम्म एशियन स्ट्याण्डर्डको बाटो बनेको कारण ‘हाइवे ड्राइभ’ अनुभव गर्न पनि सजिलो हुने भएको कारण काठमाडौंबाट पोखराको बाटोमा टेस्ट ड्राइभ गर्ने योजना बुनेको थिए । फर्कदा एक्सट्रिम उकालोमा पनि यसको टेस्ट हुने कुरा ध्यानमा राख्दै छहरे–टोखाको बाटो लिने निर्णय गरे ।
दुई दिनमा ४५० किलोमिटर हाराहारी ड्राइभ गरेपछि नामी भिगोका बलिया र कमजोर पक्षका विषयमा यहाँ उल्लेख गर्दैछु ।
बलिया पक्ष
रेन्ज : मैले गाडीको रेन्ज जसरी हुन्छ, धेरै निकाल्नु पर्छ भनेर चलाइन । विगतमा पनि थुप्रै टेस्ट ड्राइभ गर्दा रेन्ज मेरोअटो डटकमको प्राथमिकतामा पर्दैन थियो । हामीले चलाएर हेर्दा पाएको रेन्ज कुनै पनि उपभोक्ताले सडकमा पाउनु पर्छ भन्ने हाम्रो बुझाइ छ ।
काठमाडौंबाट पोखरासम्म पुग्दा गाडीले ४८ प्रतिशत चार्ज खपत परेको थियो । जाडो महिना भएको कारण काठमाडौंबाट दमौलीसम्म हिटर प्रयोग गरिएको थियो । दमौलीपछि भने एसी चलाएर जानु परेको थियो । काठमाडौंको थलीदेखि पोखरासम्मको २१६ किलोमिटर ६ घण्टा लगाएर यात्रा गर्दा ४८ प्रतिशत चार्ज खपत हुनु निकै राम्रो हो ।
पोखराबाट फर्कदा भने ६१ प्रतिशत चार्ज खर्च भयो । पोखराबाट नुवाकोटको बट्टार ४० प्रतिशत चार्ज खपत गरेर आइपुगेको थियो । बट्टारबाट काठमाडौंको नक्साल आइपुग्दा २१ प्रतिशत इनर्जी लागेको थियो । समग्रमा १०९ प्रतिशत चार्जमा काठमाडौं-पोखरा दुई तर्फी यात्रा पूरा भएको थियो । यो निकै राम्रो रेन्ज हो ।
एमएडब्लू वृद्धिले नेपाली बजारमा बिक्री गर्ने भिगो एसयूभीमा दुई ब्याट्री अप्सन पाइन्छ । यसको सानो ब्याट्री ४४.९ किलोवाट आवरको छ भने ठूलो ब्याट्री ५१.८७ किलोवाट आवरको छ ।
ब्रेकिङ र एक्सेलिरेसन : नामी भिगो निकै स्मुद एक्सेलिरेसन भएको एसयूभी हो । ईभी छिट्टो पवार र टर्क प्रदान गर्ने भएको कारण प्यासेन्जरहरूले धेरै झट्का महसुस गर्छन् । तर, भिगोमा त्यो अवस्था आउने छैन । ब्रेकिङ पनि निकै स्मार्ट छ । तपाईंले चाहेको स्थानमा यसलाई रोक्न सक्नुहुन्छ ।

एडासको सहायताले सडकमा लेन किप एसिस्ट, ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर निकै उपयोगी छन् । चालकलाई सहजक र सचेत गराउन एडास फिचर सहयोगी बनेको छ ।
पावर : नामी भिगोमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । फ्रन्ट ह्वील ड्राइभ मोटरमा उपलब्ध एसयूभी निकै पावरफुल लाग्छ । यसमा तीन ड्राइभिङ मोड इको, कम्फर्ट र स्पोर्ट पाइन्छ । हाइवेकै लागि पनि इको मोड काफी हुन्छ । बजारमा उपलब्ध धेरै एसयूभीको तुलनामा यसको इको मोड पावरफुल लाग्छ ।
कम्फर्ट र स्पोर्ट मोड थप बलियो लाग्छ । सायद भिगो एसयूभीको तौल कम भएको कारण पनि पावर धेरै लागेको हुनसक्छ । यसको कर्भ वेट १ हजार ६३० किलोग्राम मात्रै छ ।
बाहिरी डिजाइन : नामी भिगो बजारमा उपलब्ध धेरै एसयूभी भन्दा बाहिरबाट हेर्दा आकर्षक लाग्छ । बक्सी डिजाइन, क्लिन फिनिसिङ, युनिक डोर ह्याण्डल, विल्कुलै नयाँ डिजाइनको टेलगेट, स्टाइलिस ह्वीलआर्क र बाक्लो बडी क्लाडिङले भिगो एसयूभीलाई पृथक ‘लुक’ दिएको छ ।
मूल्य : नामी भिगो दुई ब्याट्रीसहित उपलब्ध छ । ‘भिगो ई टु’ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ । यसमा ४४.९४ किलोवाट आवरको ब्याट्री छ । साथै, टप भेरियन्ट ‘ई टु प्लस’ हो । यसमा ठूलो ५१.८७ किलोवाट आवरको ब्याट्री छ । यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्योर ईभी प्लेटफर्ममा बनेको नामी भिगो सबैभन्दा कम मूल्यको कम्प्याक्ट एसयूभी हो ।
केही कमजोर पक्ष
नामी भिगो सर्वगुण सम्पन्न मोडल पक्कै होइन । यसका केही कमजोरी छन् । ड्यासबोर्डको बनोट अहिलेभन्दा राम्रो हुन सक्थ्यो । सेन्टर कन्सोल र ड्यासबोर्डको बीचमा खाली र ठूलो स्पेस छ । यसलाई मोर्डन बनाउन सकिन्थ्यो ।
यसका अलवा कच्ची बाटोमा चलाउँदा क्याबिनमा हल्का आवाज सुनिन्छ । यस्ता साना मसिना कुरा छाड्ने हो भने बजारमा उपलब्ध सबैभन्दा ‘भ्यालू फर मनि’ कम्प्याक्ट एसयूभी मान्न सकिन्छ ।

