केटीएमको सबैभन्दा सानो स्पोर्ट मोटरसाइकल सडक परीक्षणमा, चाँडै बजारमा आउँदै

काठमाडौं । केटीएमको सबैभन्दा सानो क्षमताको स्पोर्ट मोटरसाइकल आरसी १६० सन् २०२६ को पहिलो त्रैमासमै सार्वजनिक हुने भएको छ ।

कम्पनीले नयाँ आरसी १६० मोटरसाइकलको मार्च भित्रै बजारमा ल्याउने तयारी गरिरहेको हो । कम्पनीले हाल उक्त मोटरसाइकल भारतको विभिन्न सडकहरूमा परीक्षण गरिरहेको तस्बिर बाहिरिएको छ ।

भारतीय मोटरसाइकल ब्राण्ड बजाजले अस्ट्रियन ब्राण्ड केटीएम खरिद गरेसँगै कम्पनीले नयाँ मोटरसाइकलको परीक्षण सुरू गरिसकेको थियो ।

कम्पनीले बजारमा ल्याउने तयारी गरिरहेको केटीएम आरसी १६० मोटरसाइकलको डिजाइन केटीएमको आरसी २०० मोडलबाट प्रभावित छ । यसमा प्रयोग भएको इन्जिन केटीएम ड्यूक १६० मा आधारित छ ।

कम्पनीले भारतमा केटीएमको १६० ड्यूक मोडल भने सन् २०२५ को सेप्टेम्बर महिनामा सार्वजनिक गरेको थियो । केटीएमको सुपरस्पोर्ट सिरिज अन्तर्गतको आरसी १६० केटीएमकै ब्ल्याक एण्ड अरेन्ज कलर कम्बिनेसनमा उपलब्ध हुने छ ।

अन्य आरसी मोडल जस्तै ट्रेलिस फ्रेममा बनेको यस मोटरसाइकलमा डब्लूपी एपेक्स इन्भर्टेड यूएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअप, ओरेन्ज कलर अलोय ह्वील, लार्ज डबल डिस्कब्रेक र डबल च्यानल एबीएस हुने छ ।

साथै, मोटरसाइकलमा ब्लुटूथ कनेक्टिभिटी सहितको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, टर्न बाइ टर्न नेभिगेशन, पूरा एलईडी लाइट सेटअप, स्प्लीट सिट ग्रयाबरेल लगायतका फिचरहरू हुने अनुमान गरिएको छ ।

आरसीमा १६४ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन हुनेछ, जुन ड्युक १६० मा पनि रहेको छ । यो इन्जिनले अधिकतम १८.७ पीएस पावर तथा १५.५ एनएम टर्क जनेरेट गर्छ । यसमा स्लिपर क्लच र ६ स्पीडको गियरबक्स हुनेछ ।

यसमा दिइएको इन्जिन ड्यूककै भए पनि कम्पनीले पावर पर्फमेन्स बढाउन ड्राइभ रेसियोमा केही परिवर्तन गर्न सक्ने अनुमान छ ।

कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइकल आरसी १६० ले बजारमा यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top