२०२५ मा चार चिनियाँ ब्राण्डले बेचे लक्ष्यभन्दा धेरै कार

काठमाडौं । सन् २०२५ मा चीनका चार अटोमोबाइल ब्राण्डले आफ्नो वार्षिक लक्ष्यभन्दा धेरै सवारी बिक्री गर्न सफल भएका छन् ।

अधिकांश ठूला ब्राण्डले आफ्नो लक्ष्य भेट्टाउन नसक्दा जिली, लीपमोटर, एक्सपेङ र साओमीले लक्ष्यभन्दा धेरै सवारी बिक्री गरेका हुन् ।

जिली अटोमोबाइलले वार्षिक ३० लाख सवारी बिक्री लक्ष्य राखेकोमा ३० लाख २४ हजार ५६७ युनिट बेच्न  सफल भएको छ । यो वार्षिक लक्ष्यको १००.८२ प्रतिशत हो । यद्यपि, कम्पनीले २०२५ को सुरूमा २७ लाख १० हजार युनिट मात्रै बिक्री गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै, लीप मोटरले लक्ष्यको ११९.३१ प्रतिशत सवारी बिक्री गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यस वर्ष ५ लाख युनिट सवारी बिक्रीको लक्ष्य राखेकोमा ५ लाख ९६ हजार ५५५ युनिट बेच्न सफल भएको हो ।

त्यस्तै, एक्सपेङले लक्ष्यभन्दा झण्डै ८० हजार बढी सवारी बिक्री गर्न सफल भएको छ । कम्पनीले सन् २०२५ मा ३ लाख ५० हजार युनिट बिक्रीको लक्ष्य राखेकोमा ४ लाख २९ हजार ४४५ युनिट बिक्री गरेको हो । यो वार्षिक लक्ष्यको १२२.६९ प्रतिशत धेरै हो ।

त्यस्तै, लग्जरी कार उत्पादनमा छुट्टै पहिचान बनाएको साओमीले लक्ष्यको ११४.२९ प्रतिशत धेरै कार बिक्री गरेको छ । कम्पनीले यस वर्ष ३ लाख ५० हजार कार बिक्रीको लक्ष्य राखेकोमा ४ लाख बढी बेच्न सफल भएको हो ।

चीनका अन्य ठूला सवारी ब्राण्डले भने आफ्नो लक्ष्य भेट्टाउन सकेका छैनन् । चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाइडीले लक्ष्यको ८३.३६ प्रतिशत मात्रै लक्ष्य भेटाएको छ । बीवाइडीले सन् २०२५ मा ५५ लाख कार बिक्री गर्ने लक्ष्य राखेकोमा ४६ लाख २ हजार ४३६ युनिट मात्रै बिक्री गर्न सकेको हो । यद्यपि, कम्पनीले यस वर्ष हालसम्मकै धेरै गाडी बेचेको छ ।

त्यस्तै, ३२ लाख ६० हजार बिक्री लक्ष्य राखेको चेरी अटोमोबाइलले २६ लाख ३१ हजार ३८१ युनिट, ४० लाख लक्ष्य राखेको ग्रेटवाल मोटरले १३ लाख २३ हजार ६७२ युनिट मात्रै बिक्री गर्न सफल भएको छ ।


Back_to_top