काठमाडौं । फिनल्याण्डको इलेक्ट्रीक मोटरसाइकल निर्माता भर्जले विश्वकै पहिलो सोलिड स्टेट ब्याट्री प्रयोग गरिएको मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले अहिलेसम्मकै नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि प्रयोग गरेर ‘भर्ज टीएस प्रो’ नामक नयाँ मोटरसाइकल बजारमा ल्याएको हो । हाल यो मोटरसाइकल फिनल्याण्डसहित अन्य केही युरोपियन देशहरूमा उपलब्ध भएको हो ।
अहिलेसम्म कुनै पनि कम्पनीले सोलिड स्टेट ब्याट्री भएको मोटरसाइकल बिक्रीमा ल्याएका छैनन् ।
भर्ज टीएस प्रोमा सीसीएसटू फास्ट चार्जिङ टेक्नोलोजी दिइएको छ । जसले २०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्छ। कम्पनीका अनुसार यो मोटरसाइकललाई केवल १० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो चार्जिङ क्षमता मध्येको एक हो।
यसमा २०.२ किलोवाट आवर र ३३.३ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक विकल्प रहेको छ । यी ब्याट्रीले एकपटकको फुल चार्जमा ३५० किलोमिटर र ६०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । सोलिड स्टेट ब्याट्री प्रयोग भएकाले मोटरसाइकलमा आगलागीको जोखिम कम हुने र दीर्घकालीन रूपमा सुरक्षित हुने कम्पनीको भनाइ छ।
मोटरसाइकलमा कम्पनीले विशेष किसिमको १०२ किलोवाटको हबलेस रियर मोटर प्रयोग गरेको छ। यो मोटरले अधिकतम १००० एनएमटर्क जेनेरेट गर्छ। यसले ०-१०० किलोमिटर प्रतिघण्टाको रफ्तार केवल ३.५ सेकेण्डमा पूरा गर्न सक्छ । मोटसाइकलकाको तौल भने करिब २३५ किलोग्राम रहेको छ ।
टीएस प्रोमा डुअल-च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, चार राइडिङ मोड, क्रुज कन्ट्रोल, डिटेड ग्रिप, पूरा एड्जस्टेवल सस्पेन्सन सेटअप, पीरेली टायर लगायतका आधुनिक सेफ्टी फिचरहरू छन्।
यसको सिट हाइट ७८० एमएम र ग्राउण्ड क्लियरेन्स १४० एमएम छ । जसले गर्दा दैनिक प्रयोग र लामो यात्राका लागि पनि उपयुक्त बनाउँछ ।
भर्ज टीएस प्रोले केवल नयाँ मोटरसाइकल मात्र नभई इलेक्ट्रीक मोटरसाइकलको भविष्य कता जाँदैछ भन्ने कुरालाई स्पष्ट संकेत गरेको छ। छोटो चार्जिङ समय, लामो रेन्ज र उच्च प्रदर्शनका कारण यो मोडलले पेट्रोल मोटरसाइकलको बलियो विकल्पका रूपमा आफूलाई स्थापित गर्ने अनुमान गरिएको छ।

