काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको ४ महिना (असोज-पुस)मा १ हजार ७४ युनिट बीवाइडी एटो टु आयात भएको छ ।
साइमेक्स इंकले नाडा अटो शो २०२५ मा सार्वजनिक गरेको एटो-टु जनवरी १५ तारिखसम्मको आयात तथ्यांक अनुसार १ हजार ७४ युनिटको माइलस्टोन पूरा गर्दै नेपाली बजारमा सदावहार हिट मध्येको एक मोडल बन्ने बाटोमा देखिएको हो ।
नेपाली बजारमा प्रवेश गरेको यति छोटो समयमा करिब ११ सय युनिट आयात हुनु भनेको आफैँमा ठूलो उपलब्धि मान्न सकिन्छ । यसले बीवाइडीका विद्युतीय साधनमा नेपाली उपभोक्ताले देखाएको विश्वस पनि झल्किएको टिप्पणी हुन थालेको छ ।
बीवाइडीले यसअघि ल्याएको एटो थ्री र डल्पिनको सफलतालाई नजिकबाट एटो टुले पच्याउन थालेको सहजै अनुमान लगाउन सकिन्छ । बीवाइडीको सफल मोडलको सूचीमा उक्त आयात संख्यासँगै एटो टु दर्ज भएको छ ।

किन झुम्मिए उपभोक्ता ?
बीवाइडीको एटो टुको सफलता कम्पनीको ब्राण्ड नेमसँग जोडियो । ब्लेड ब्याट्री, साइमेक्सको बलियो बिक्री नेटवर्क, बिक्रीपछिको सेवामा कम्पनीले गरेको लगानी र अन्तर्राष्ट्रिय बजारमा बीवाइडीको सफलताको कारण नेपाली उपभोक्तालाई ईभीमा एक भरपर्दो ब्राण्डको विकल्प बीवाइडीले दियो ।
यस्तो छ एटो टु
बीवाइडीको एटो-टुमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । जुन औषत ईभीमा हुनेभन्दा धेरै अग्लो हो । ब्याट्री साइजको आधारमा पनि एटो-टु निकै उपयोगी देखियो । यसमा ५१ किलोवाटको ब्लेड ब्याट्री छ ।
यसमा पावर प्रदान गर्न १०० किलोवाटको मोटर छ । पीकटर्क भने २९० न्युटन मिटर छ । जुन अर्को बलियो पक्ष हो । सिंगल चार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दाबी गरिएको एटो-टु रेन्जको मामलामा पनि राम्रो छ ।

बीवाइडीको ग्लोबल डिजाइन, सिग्नेचर बडी स्टाइल, सार्प एलईडी हेडल्याम्प, स्टाइलिस फ्रन्ट लुकले ग्राहक तान्ने नै भयो । अर्को महत्वपूर्ण कुरा बीवाइडीले नेपालमा बनाएको ब्राण्ड नेम, बिक्री नेटवर्क, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कले पनि सपोर्ट गर्छ ।
मूल्यले थप बलियो
एटो-टुको मूल्य निकै आकर्षक लाग्छ । ४३ लाख ९९ हजार मूल्य रहेको एटो टु बजेटमा इलेक्ट्रीक एसयूभी खोज्नेको रोजाइमा परेकै कारण धेरै बिक्री भएको हो ।
मासिक ४० हजारभन्दा कम किस्ता
अहिले बजारमा ब्याजदर ७ प्रतिशतमा जति पनि कर्जा पाउने अवस्था छ । ७ वर्ष भित्र तिर्नेगरी कर्जा लिन पाइन्छ । एटो-टु किन्ने योजना बनाउनेसँग सुरूमा डाउन पेमेन्ट बापत बुझाउनु पर्ने मूल्यको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ हुनुपर्छ ।
डाउन पेमेन्टपछिको २६ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्छ । त्यसले अहिले चलेको ब्याजदरमा तिर्दा मासिक ३९ हजार ८३५ रुपैयाँ तिर्दा पुग्छ ।

