काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडी ब्राण्ड नाम दुरुपयोग गरी संचालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ ।
कम्पनीका अनुसार यस्ता नक्कली प्लेटफर्महरूले आफूलाई बीवाइडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् ।
साइमेक्स इंकले ‘बीवाइडीप्रमोसन डटकम’ नामक वेबसाइट, ‘बीवाइडी डिलर्स फ्यानस’ नामको फेसबुक पेज र ‘बीवाइडी प्रमोसन’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चारमाध्यम नभएको स्पष्ट गरेको छ ।
उक्त प्लेटफर्महरूसँग साइमेक्स इंक प्राइभेट लिमिटेडको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी अनधिकृत डिजिटल प्लेटफर्महरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचारमार्फत ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ । यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्नसक्ने भन्दै साइमेक्स इंकले चासो व्यक्त गरेको छ ।
सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ ।
नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियान सम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ ।

