फागुन २१ सम्म सवारी साधन प्रयोग गर्दा यी ६ नियम पालना गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ ।

आयोगले राजनीतिक दल तथा उम्मेदवाहरूलाई अनुशासनमा राख्न, चुनावमा हुने आर्थिक चलखेल, तड्कभड्क रोक्न आचारसंहिता लागू गरेको हो ।

अब निर्वाचन सम्पन्न नहुन्जेल कुनै पनि राजनीतिक दल, उम्मेदवार र दलको भातृ संगठनले आयोगले तोकेको आचारसंहिता विपरीत कार्य गर्न पाउने छैनन् । यदि गरेको खण्डमा आयोगले उम्मेदवारी खारेज समेत गर्न सक्नेछ ।

आयोगले निर्वाचन प्रचार प्रसारमा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने ६ वटा आचरण तोकेको छ ।

आयोगका अनुसार कुनै पनि उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर मात्र आफ्नो निर्वाचन क्षेत्र भित्र चुनावी प्रयोजनका लागि सवारी प्रयोग गर्न पाउँछन् । जसमा एक उम्मेदवारले बढीमा दुई वटा दुईपाँग्रे, तीन पाँग्रे वा चारपाँग्रे सवारी प्रयोग गर्न सक्छन् । सवारी नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न स्क्नेछन् । तर, विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न अनुमति नदिइने आयोगले जनाएको छ ।

त्यस्तै, अनुमति प्राप्त सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न नपाइने, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अन्य दल वा उम्मेदवारले प्रयोग गर्न पाउँदैनन् ।

त्यसैगरी, कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारी प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउँदैनन् । तर, गर्भवती महिला, सुत्केरी, क्रियापुत्री, ज्येष्ठ नागरिक लगायत हिँडडुल गर्न नसक्ने मतदाताका लागि निर्वाचन अधिकृतको अनुमतिमा प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, सम्बन्धित स्थान तोकी प्रयोग गर्ने अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने र अनुमति नलिएको सवारी प्रचारप्रसारमा प्रयोग गरेमा वा प्रचारप्रसार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता समितिलाई गनराउनुपर्ने आयोगले जनाएको छ ।


Back_to_top