काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले विश्वकै सबैभन्दा ठूलो १६ हजार टन डाइ-कास्टिङ उत्पादन लाइन संचालनमा ल्याएको छ।
कम्पनीले चीनको वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रमा १६ हजार टन डाइ कास्टिङ जडान भएको कारखाना संचालनमा ल्याएको हो । कम्पनीले उक्त कारखानाबाट पहिलो पटक ‘ब्याट्री केसिङ’ सफलतापूर्वक उत्पादन गरेको हो ।
उक्त कारखानामा विश्वकै सबैभन्दा ठूलो १६ हजार टन र १० हजार टन क्षमताका दुई डाइ कास्टिङ उत्पादन लाइन संचालनमा छन् ।
यस कारखानाबाट निर्मित कम्पोनेन्टहरू अप्रिल महिनादेखि मास प्रोडक्सनमा जाने अपेक्षा गरिएको छ । जसमा डोङफेङ eπ ००७, eπ ००८, भोयाह ड्रीमर जस्ता मोडेलहरू पहिलो चरणमा उत्पादन हुने छन् ।
यस कारखानाको मुख्य उद्देश्य एनईभीका लागि अत्याधुनिक अल्ट्रा-लार्ज इन्टिग्रेटेड डाइ-कास्ट संरचनात्मक कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्री गर्नु हो। यसमा विशेषगरी ब्याट्री केसिङ जस्ता महत्वपूर्ण संरचनात्मक भागहरू समावेश छन्।
डोङफेङका अनुसार परम्परागत निर्माण विधिको तुलनामा डाइ-कास्ट ब्याट्री केसिङले सवारी साधनको पावर ब्याट्री प्रणालीको सुरक्षा बढाउने, सवारीको तौल र ऊर्जा खपत घटाउने तथा नयाँ ऊर्जा सवारी साधनको ड्राइभिङ रेन्ज विस्तार गर्न सहयोग पुर्याउने गर्दछ।

४७ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस कारखानाको निर्माण नोभेम्बर २०२४ मा सुरू गरिएको थियो। मुख्य उत्पादन भवन अगस्ट २०२५ मा सम्पन्न गरिएको हो। करिब १ अर्ब युआन (करिब १४.३६ करोड अमेरिकी डलर) लगानीमा निर्माण गरिएको यस कारखानामा १६ हजार टन र १० हजार टन क्षमताका डाइ-कास्टिङ मेसिनहरू जडान गरिएका छन्। हालको वार्षिक उत्पादन क्षमता २ लाख अटोमोबाइल कम्पोनेन्ट रहेको छ।
कारखानाको दोस्रो चरणमा थप चार उत्पादन लाइन निर्माण गर्ने योजना रहेको छ । जसपछि कुल वार्षिक उत्पादन क्षमता ६ लाख युनिटसम्म पुग्नेछ। १६ हजार टन क्षमताको डाइ-कास्टिङ मेसिन चीनमै डिजाइन तथा निर्माण गरिएको हो । जसका कारण यो हालसम्म उद्योगकै सबैभन्दा ठूलो इन्टिग्रेटेड डाइ-कास्टिङ कारखाना बनेको छ।
विशेषगरी, डोङफेङको १० हजार टन डाइ-कास्टिङ मेसिनको मोल्ड एक चलायमान (मुभिङ) र एक स्थिर (स्टेसनरी) मोल्डबाट बनेको छ। जब ७२० डिग्री सेल्सियस तापक्रमको पग्लिएको एल्युमिनियम मोल्डभित्र इन्जेक्ट गरिन्छ, तब एल्युमिनियम तीव्र रूपमा मोल्ड क्याभिटीमा भरिन्छ। त्यसपछि चलायमान मोल्डले १० हजार टन दबाबका साथ स्थिर मोल्डलाई थिच्छ। केबल दुई मिनेटभित्रै सवारी साधनका ब्याट्री ट्रे र ब्याट्री केसिङ आवश्यक आकारमा डाइ-कास्ट गरिन्छ।


