काठमाडौं । काठमाडाैं महानगर भित्र सार्वजनिक यातायातका चालक तथा सहचालकले अनिवार्य पोसाकसहित परिचय पत्र लगाउनुपर्ने व्यवस्था गर्न लागिएकाे छ ।
महानगरपालिका र ट्राफिक कार्यालयको सहकार्यमा सवारी चालक तथा सहचालकलाई पोसाकसहित परिचय पत्रको नियम ल्याउन लागेको महानगरले जानकारी दिएको छ । महानगरपालिका श्रोतका अनुसार यस विषयमा छलफल भइरहेको छ ।
सवारी चालकसँग भएको लाइसेन्स मात्र सुरक्षाका लागि पर्याप्त नभएको भन्दै महानगरपालिकाले परिचय पत्र र पोसाकको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
यसले सवारी चालकको बारेमा सबै जानकारी सर्वसाधरणले पनि पाउने र दुर्घटना भएको खण्डमा सहजै सवारी चालकलाई कारवाही गर्न सकिने हुन्छ ।
परिचय पत्रमा चालकको फाटोसहित नाम, बुबा आमाको नाम, स्थायी ठेगाना, अस्थायी ठेगाना, लाइसेन्स नम्बर, गाडीको नम्बर प्लेट, चालक तथा सह चालकको शैक्षिक योग्यता, रोजगारदाताको नाम, सवारी साधनको किसिम, सम्पर्क ब्यक्तिको नाम र सवारी साधनको नाम अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

