काठमाडौंमै ७०० मिटर सडक बनाउन दोस्रो पटक म्याद थप

काठमाडौं । छिमेकी देश भारतले १०० घण्टामा १०० किलोमिटर सडक कालोपत्र गरेर विश्व रेकर्ड राखेको छ । बिडम्बना हाम्रो नेपालमा ७०० मिटर सडक पनि तोकिएकै समयमा सम्पन्न गर्न नसकेर दोस्रो पटक म्याद थप्नु परेको छ ।

विकासको गति, सरकार र ठेकेदारलाई नै गिज्याउने सडक हो चक्रपथ विस्तार आयोजना अन्तर्गत निर्माणधीन महाराजगंज-चप्पल कारखाना सडक । यस सडकको लम्बाइ केबल ७०० मिटर मात्र छ ।

तर, ११ महिनामा पनि उक्त सडकको काम सम्पन्न नभएपछि पुनः दोस्रोपटक २ महिना म्याद थपिएको हो । सडक डिभिजन काठमाडौं ५ महिना (२०८२ असार भित्रै काम सक्नेगरी २०८१ फागुनमा यसको ठेक्का लगाएको थियो ।

निर्माण कम्पनी अम्बुजा/एसके/काली जेभीले उक्त समयमा करिब ३५ प्रतिशत मात्रै काम सकेपछि पहिलो पटक ६ महिना (२०८२ पुस १५) सम्म म्याद थपिएको थियो । उक्त अवधिमा पनि करिब ६५ प्रतिशत मात्रै काम पूरा भएपछि पुनः दोेस्रो पटक दुई महिना म्याद थपिएको हो ।

सडक डिभिजन काठमाडौंका इन्जिनियर सजित शर्माले यस सडकको म्याद २०८२ फागुन १४ गतेसम्म थपिएको जानकारी दिए । उनका अनुसार हालसम्म भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । अझै ३५ प्रतिशत काम बाँकी छ ।

यो सडक निर्माण ढिलाइ हुनुमा मुख्य रूपमा साइट क्लियरेन्समा ढिलाइ, खानेपानीको पाइप लिकेज हुनु, आन्दोलन, मनसुन लगायत कारण रहेको उनले बताए ।

‘सडक निर्माण ढिलाइ हुनुका धेरै कारण छन् । समयमै बिजुलीको खम्बा, टेलिफोनको तार, ढलको पाइप र खानेपानी पाइप व्यवस्थापन भएन । साथै, कामको क्रममा बारम्बार खानेपानीको पाइप लिकेज हुँदा समस्या थपियो,’ उनले मेरोअटोसँग भने ।

उनले खानेपानीको पाइप लिकेज हुने समस्या बारम्बार दोहोरिएपछि बाँयातर्फ (महाराजगंजबाट) पूरै नयाँ पाइप राखिएको बताए । दायाँतर्फ चप्पल कारखानाको ५० मिटर क्षेत्रमा अहिले सोही समस्या देखिएको छ । उक्त समस्या समाधानको पहल भइरहेको उनको भनाइ छ ।

उनका अनुसार नाला, आरसीसी वाल, कल्भर्ट, टेवा पर्खाल, सबबेस, बेस राख्ने लगायत काम सकिएको छ । अब कालोपत्र, रेलिङ, फूटपाथको काम मात्रै बाँकी छ ।

उनले मंगलबारदेखि कालोपत्र सुरू गरिएको बताए । ‘अब मुख्य काम कालोपत्र गर्न बाँकी छ । मंगलबारदेखि कालोपत्रका लागि प्राइम राख्न सुरू गरिएको छ । दुई साताभित्र कालोपत्र गरीसक्ने लक्ष्य राखिएको छ,’ उनले भने । थपिएको म्याद भित्रै सबै काम सम्पन्न हुने उनको भनाइ छ ।

हाल विस्तारको क्रममा रहेको महाराजगंज-चप्पल कारखाना सडक चीन सरकारले बनाएको कोटेश्वर-कलंकी सडककै स्ट्याण्डर्डको हुनेछ । यो सडक बीचमा ४ लेन र दायाँबायाँ २/२ लेनको सर्भिस ट्रयाक गरी ८ लेनको हुनेछ । यसको डिजाइन डिभिजन कार्यालय काठमाडौं आफैंले गरेको हो ।

चीन सरकारको अनुदानमा बनाइदिने भनिएको कलंकी-बसुन्धरा सडक विस्तारमा ढिलाइ भएपछि सरकारले आफ्नै लगानीमा महाराजगंज-धोवीखोला खण्ड विस्तार सुरू गरेको हो ।

नारायणगोपाल चोक-गोपिकृष्ण-पुलसम्मको २.४ किलोमिटर सडक मध्ये पहिलो चरणमा चप्पल काराखानासम्मको ७०० मिटर खण्डको ठेक्का लगाएर काम थालिएको हो । यस खण्डको ठेक्का २५ करोड रुपैयाँमा लगाइएको हो ।

बाँकी खण्ड चप्पल कारखानादेखि गोपिकृष्ण हलसम्मको १.७ किलोमिटर सडक विस्तारको चालु आवमै ठेक्का लगाइने बताइएको छ । तर, वहुवर्र्षीय ठेक्का सम्बन्धी मापदण्ड संशोधन भएकाले केही ढिलाइ भएको इन्जिनियर शर्माले बताए । सरकारले यो खण्ड निर्माणका लागि चालु आवमा १ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चीन सरकारले ७ वर्षअघि चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार गर्दिसकेको छ । त्यस्तै, दोस्रो खण्ड अन्तर्गत कलंकीदेखि बसुन्धरासम्मको सडक विस्तार गरिदिने बताए पनि हालसम्म निर्माण सुरू भएको छैन ।


Back_to_top