काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को प्रस्थानविन्दु सारिने भएको छ ।
हालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा फास्ट ट्रयाकको प्रस्थान बिन्दु खोकना तोकिएको छ । उक्त क्षेत्रमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि अब विकल्पमा खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोललाई प्रस्थान बिन्दु कायम गर्न प्रस्ताव गरिएको हो ।
फास्ट ट्रयाक व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधनको मस्यौदा समेत तयार पारेको छ ।
सेनाले फर्सिडोलमा टोल प्लाजा बनाउने र त्यहाँसम्म पुग्ने पहुँचमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने गरी मस्यौदा तयार पारेको छ । अब उक्त मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्नेछ ।
मंगलबार प्रधानमन्त्री सुशिला कार्कीले राखेको बैठकमा सेनाले फास्ट ट्रयाकका समस्या, पछिल्लो जानकारी र डीपीआर संशोधन तयारी बारे जानकारी समेत गराएको थियो ।
प्रधानमन्त्री कार्कीले खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् । उनले आवश्यक परेमा अब फास्ट ट्रयाकको डीपीआर समेत संशोधन गर्नुपर्ने बताएकी छिन् ।
‘अब विस्तृत परियोजना प्रतिवेदन संशोधन गरौं । सुरू विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौं । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौं, उनले भनेकी थिइन् ।

ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो संचालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो ।
प्रधानमन्त्री कार्कीले यसअघि गत माघ १३ गते निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । उनले त्यस क्रममा फास्ट ट्रयाकको प्रस्थानबिन्दु ललितपुरको खोकनाका स्थानीयसँग भेटघाट गर्दै धार्मिक(सांस्कृतिक सम्पदा तथा आस्थामा पर्ने असर बारे चासो राखेकी थिइन् । त्यसपछि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन् ।
प्रधानमन्त्रीको निर्देशनसँगै अब डीपीआर संशोधनको प्रस्ताव चाँडै मन्त्रिपरिषद् जाने बताइएको छ । फास्ट ट्रयाकको डीपीआर संशोधन गर्न लागिएको यो तेस्रो पटक हो । यसअघि २०८० साउन ३० गते पहिलो पटक र २०८१ कात्तिक २५ गते दोस्रो पटक संशोधन गरिएको थियो ।
फास्ट ट्रयाकको डीपीआर २०७५ चैत ५ गते तयार भएको थियो । अन्तराट्रिय परामर्शदाता सुसङ इन्जिनियरिङ एण्ड कन्सल्टिङले डीपीआर तयार पारेको थियो ।
दुरी छोटिने
डीपीआर संशोधन हुने भएसँगै फास्ट ट्रयाकको दुरी समेत छोटिने भएको छ । सुरूको डीपीआर अनुसार फास्ट ट्रयाकको लम्बाइ ७२ किलोमिटर थियो । दोस्रो संशोधनमा ४ वटा सुरुङ थपिएसँगै दुरी घटेर ७०.९७७ किमी कायम भएको थियो ।

अब तेस्रो संशोधनमार्फत प्रस्थान बिन्दु ३.३ किमी तल सारिने भएसँगै फास्ट ट्रयाकको कुल लम्बाइ घटेर करिब ६७.७ किलोमिटर कायम हुनेछ ।
२०७४ देखि सुरू गरिएको यस आयोजनाको हालसम्म भौतिक प्रगति करिब ४६ प्रतिशत पुगेको छ । हाल १३ खण्डमा ठेक्का लगाई धमाधम काम भइरहेको छ ।
नेपाली सेनाका अनुसार फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरूङ निर्माण भइरहेका छन् । तीमध्ये हालसम्म दुई वटा लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरूङ ब्रेक थ्रु भइसकेको छ ।
त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरूङको ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरूङको २५० मिटर खनिएको छ । १ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र ५९४ मिटर लामो मौरीभीर सुरूङको पोर्टल तयारी कार्य भइरहेको छ ।
त्यस्तै, फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । फास्ट ट्रयाकमा ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरू निर्माण भइरहेको छ । ८९ पुल मध्ये ८५ वटाको ठेक्का लागिसकेको छ । तीमध्ये अधिकांश पुलको फाउन्डेसन निर्माण सम्पन्न भई सुपरस्ट्रक्चरको काम भइरहेको छ । जसमा ५१ वटा पुलको फाउन्डेसन र २६ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । पुस मसान्तसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।

त्यस्तै, ५ किमी सर्भिस लेन कालोपत्र भइसकेको छ भने मुख्य सडकमा पनि कालोपत्र सुरु भएको छ । हालसम्म ११ किमी खण्डमा सबबेस राखिसकिएको छ ।
आयोजनाको समग्र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ । हालसम्म आयोजनामा ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । यसको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८३ चैतसम्म रहेको छ ।


