तीन महिना भित्र ३ नयाँ कार ल्याउँदै मारुती सुजुकी

काठमाडौं । अबको केही महिना भित्रै मारुती सुजुकीले तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । भारतीय बजारमा सर्वाधिक बिक्री हुने यो ब्रान्ड नेपाली बजारमा समेत निकै रुचाइएको ब्रान्ड हो ।

भारतीय ग्राहकको रोजाईमा महंगा र स्टाइलिस कार पर्न थालेसँगै कम्पनीले नयाँ मोडल ल्याउने भएको हो । कम्पनीले ७ सिटर वागेन–आर, उच्च पर्फमेन्सको स्वीफ्ट र क्रसओभर एर्टिगा बजारमा ल्याउने तयारी गरेको हो ।

भारतमा मारुती सुजुकी किफायति कारको लागि चर्चामा रहँदै आएको छ । यस्तोमा कम्पनीले ल्याउन लागेको नयाँ मोडलले कस्तो व्यापार गर्छ भन्ने विषयमा चासो हुनु स्वभाविक हो । 

७ सिट क्षमताको वागेन-आर

बिभिन्न रोपोर्टका अनुसार मारुती सुजुकीले आफ्नो चर्चित कार वागेन-आरलाई ७ सिट क्षमतामा ल्याउने तयारी पुरा गरेको छ । बिभिन्न समय परिक्षणको क्रममा देखिएको नयाँ वागेन-आर जुन महिनामा बजारमा आउने छ ।

कम्पनीले केही महिना अगाडि बजारमा ल्याएको वागेन-आरको तुलनमा यसको इन्टेरियर र एक्सटेरियरमा निकै ठूलो परिवर्तन गरेको बुझिएको छ । कम्पनीले यसमा १.२ लिटर के सिरिज इन्जिन दिएको छ । जसले ८२ बीएचपी र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक दुबै गियरबक्स दिइने अनुमान गरिएको छ ।

स्वीफ्ट डियुल जेट

नयाँ प्रदुषण मापदन्ड अनुसार बजारमा ल्याउन लागेको स्वीफ्ट कम्पनीले चाँडै बजारमा ल्याउने अनुमान सुरु भएको छ । यसमा १.२ लिटर डियूल जेट इन्जिन दिइने छ । जसले ९१ पीएस र ११८ एनएम टर्क उत्पादन गर्छ । 

कम्पनीले यसमा ५ स्पीड म्यानुयल र ५ स्पीड अटोमेटिक गियरबक्स दिने अनुमान गरिएको छ । नयाँ इन्जिन बाहेक यसमा अन्य धेरै फिचर भने परिवर्तन नहुने बताइएको छ । जुलाईसम्ममा बजारमा उतार्ने तयारी भएको यसको मूल्य रेगुलर मोडलको तुलनामा थोरैमात्र बढी हुने आशंका गरिएको छ ।

एर्टिगा क्रस

मारुतीले ६ महिना अगाडि नयाँ जेनेरेशनको एर्टिगा बजारमा ल्याएको थियो । अब भने ग्राहकको क्रसओभर कार प्रतिको बढ्दो चाहलाई ध्यानमा राख्दै यसको क्रसओभर मोडल बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । 

कम्पनीले यसको अगाडि र पछाडिको ग्रिलमा व्यापक परिवर्तन गर्ने तयारी गरेको अटोकारले उल्लेख गरेको छ । साथै, नयाँ अलोय ह्वील, नयाँ ड्यासबोर्ड र थुप्रै नयाँ फिचर दिने छ । संभवत यो ६ सिट क्षमताको कारको रुपमा बजारमा आउने छ । 

जुलाई महिनामा बजारमा आउने अनुमान गरिएको यो कारको मूल्य १० देखि ११ लाख भारुको बीचमा रहने अनुमान गरिएको छ । 


Back_to_top