काठमाडौं । नाग्मा-गमगढी-लाक्चालाग्ना सडक आयोजना अन्तर्गत नाग्मा-गमगढी सडकखण्ड कालोपत्रका लागि ठेक्का आह्वान भएको छ ।
मंगलबार सडक डिभिजन जुम्लाले नाग्मा-गमगढी सडकखण्ड अन्तर्गत कालिकोटको नाग्मादेखि जुम्लाको देवर गाउँ (चेनेज ०+००० देखि १५+०००)सम्म १५ किमी सडक कालोपत्र गर्न टेन्डर आह्वान गरेको हो ।
संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट ९६ करोड ७७ लाख रुपैयाँ बजेट सुनिश्चित भएसँगै उक्त सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिएको हो ।
यो सडक संचालनमा आएको १३ वर्षपछि कालोपत्र गर्न लागिएको हो । कालिकोटको नाग्मबजारदेखि मुगुको सदरमुकाम गमगडीसम्म कुल ९३ किलोमिटर सडक २०६९ देखि संचालनमा आएको थियो ।
९३ किमी सडकमध्ये दोस्रो चरणमा १५ किमी सडक कालोपत्र गर्न लागिएको हो । यसअघि पहिलो चरणमा जुम्लाको कनकासुन्दरीको रोकायाबाडादेखि बोतासम्म ६ किमी कालोपत्र भएको थियो ।
सडक डिभिजन जुम्लाका सूचना अधिकारी (ई.) प्रदीप नारायण चौधरीले संघीय सरकारको बजेटमा नाग्मा गमगढी खण्डको १५ किमी सडक स्तारोन्नति गर्न टेन्डर आह्वान गरिएको बताए ।
उनले अबको ३ महिना भित्र टेन्डर प्रक्रिया सकी सडक स्तरोन्नतिको काम थालिने बताए । ‘संघीय सरकारबाट बजेट सुनिश्चित भएसँगै नाग्मदेखि देवर गाउँसम्म १५ किमी सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरिएको छ,’ उनले मेरोअटोसँग भने, ‘अबको ३ महिना भित्र सबै खरिद प्रक्रिया सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि निर्माण कम्पनीले काम थाल्छ ।’
अन्य खण्ड स्तरोन्नतिका लागि भने बजेट विनियोजन नभएको उनको भनाइ छ । यो सडक स्तरोन्नति भएसँगै कर्णाली प्रदेशको पर्यटकीय गन्तव्य राराताल जाने सहज हुनेछ ।
नाग्मा–गमगढी ९३ किमीमध्ये अहिले टेन्डर आह्वान भएको सहित ६१ किमी सडक स्तरोन्नति हुने भएको छ । बाँकी ७२ किमी सडक कहिलेसम्म स्तरोन्नति भइसक्छ भन्ने ठेगान छैन ।
यसैबीच, कर्णाली प्रदेश सरकारले मुगुको ताल्चा-गमगढी ९ किमी सडक कालोपत्र गर्न वहुवर्षीय ठेक्काका लागि १६ करोड बजेट सुनिश्चित गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ वर्षका लागि कुल १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको हो ।
नाग्मदेखि मुगुको सडक रणनीतिक रूपमा उत्तर दक्षिण जोड्ने राजमार्ग पनि हो । सडक विभागले उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत नाग्मा-गमगढी-लाक्चालाग्ना सडक निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरूआत गरिएको थियो । १८८ किमी लामो यो सडक हालसम्म ११० किमी ट्रयाक खोलिएको छ । कठिन भौगोलिक बनावट र बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको छैन ।

