यान्त्रिक अवस्था ठिक नहुँदा नहुँदै गुड्छन् ६७ प्रतिशत गाडी

काठमाडौं । काठमाडौंमा गुड्ने ६७ प्रतिशत सवारी साधन यान्त्रिक अवस्था ठिक नहुँदा नहुँदै गुडाइरहेको पाइएको छ ।

ट्राफिक प्रहरीले मंगलबार काठमाडौंको कलंकी ढुङ्गेअड्डामा गरेको विशेष चेकिङका क्रममा यस्तो भेटिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कुल ५५ वटा सवारी साधनको यान्त्रिक अवस्था चेक गर्दा ३७ वटा ठिक नभएको अवस्थामा पाइएको हो ।

ती सवारी साधनको हेण्डब्रेक ठिक अवस्थामा नरहेको, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएको लगायत अवस्थामा गुडाइरहेको पाइएको हो ।

अवस्था ठिक नभएका ३७ वटै सवारीका चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने खतरा हुन्छ ।

ट्राफिक प्रहरीले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी र चालकलाई अनुरोध समेत गरेको छ ।


Back_to_top