काठमाडौं । कमर्शियल सवारीमा चिनकै अग्रणी कम्पनी हाइगरले उत्पादन गरेको ३२ सिट क्षमताको विद्युतीय बस नेपालमा बिक्री सुरु हुने भएको छ ।
हाइगरको आधिकारीक बिक्रेता शसिला मोटर्सले ८.२ मिटर लामो विद्युतीय बसको बिक्री थाल्न लागेको हो । कम्पनीले मध्यपूर्वमा चर्किरहेको युद्धले पेट्रोलियम पदार्थको सप्लाईमै समस्या भइरहेको समयमा ठूलो विद्युतीय बस ल्याएको हो ।
डिजेलबाट चल्ने बसकै मूल्यमा विद्युतीय बस भन्दै शसिला मोटर्सले १ करोड ६४ लाख ९० हजार मूल्य राखेर उक्त बसको बिक्री सुरु गर्न लागेको छ ।
हाइगरको इलेक्ट्रीक कोचको रुपमा आउने बसमा २१६ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग भएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
निकै लग्जरी सिट उपलब्ध इलेक्ट्रीक बसमा पावर दिन २५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । आधिकारीक बिक्रेताका अनुसार नयाँ कोच लामो दुरीमा चलाउन उपयुक्त मोडल हो ।
अबको केही दिन भित्रै नेपाल आइपुग्ने बसले डिजेललाई विस्थापित गर्ने लक्ष्य लिएको छ । सशिला मोटर्सले यसअघि नै विद्युतीय माइक्रो बसहरु ल्याएर नेपालमा बिक्री गर्दै आएको छ ।


