५९ लाखभन्दा कममै आयो ‘ल्याण्ड क्रुजर एफजे’, थाइल्याण्डबाट बिक्री सुरू

काठमाडौं । जापानी अटोमोबाइल जाइन्ट टोयोटाले सन् २०२५ अक्टोबरमा देखाएको ल्याण्ड क्रुजर एफजे मोडलको बिक्री थालेको छ । थाइल्याण्डबाट बिक्री सुरू भएको एफजे मोडलको मूल्य १२ लाख ६९ हजार भाट (५८ लाख ८८ हजार नेपाली रुपैयाँ) तोकेर बिक्री सुरू भएको हो ।

अहिले थाइल्याण्ड प्लान्टमा उत्पादन सुरु भएको ल्याण्ड क्रुजर एफजे मोडल छिट्टै भारतमा पनि उत्पादन सुरु हुनेछ । भारतमा तत्काल बिक्री नभएपनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न उत्पादन गर्न लागिएको रिपोर्ट यसअघि नै आएको थियो ।

टोयोटाले आफ्नो बहुप्रतिक्षित मोडललाई बिभिन्न ३ कलर अप्सनमा ल्याएको छ । जसमा स्मोकी ब्लू, प्लाटिनम ह्वाइट र मिका एण्ड ऐश रहेका छन् । यसको क्याविनमा १२.३ इन्चको टच स्क्रीन, ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, लेदर र्याप स्टेयरिङ ह्वील तथा गियर नब पाउन सकिन्छ ।

ड्यूल जोन क्लाइमेट कन्ट्रोल, अटो डिमिङ आइआरभीएम र २.५ एयर फिल्टर पनि एफजे मोडलमा पाउन सकिन्छ । सुरक्षाको लागि ७ एयरब्याग, क्रुजकन्ट्रोल, पानारोमिक भ्यू मोनिटर, ट्रयाक्सन कन्ट्रोल, भेहिकल स्टेविलिटी सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अगाडि र पछाडि नै पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ । कम्पनीले यसमा एडास लेभल टु फिचर प्रदान गरेको छ ।

ल्याण्ड क्रुजर एफजेको बडीको तल्लो भागको सुरक्षामा बिशेष ध्यान दिइएको टोयोटाको दावी छ । साथै, नयाँ अफरोड मेशिनमा कम्पनीले रुफ ¥याक, १७ इन्चको ह्वील तथा हेभी ड्यूटी अफरोड टायर प्रदान गरेको छ । धेरै कुरा एशोसरिजको रुपमा प्रयोग गर्नु पर्ने हुन्छ ।

टोयोटाको नेपालको लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले पनि सन् २०२६ को अन्तिमसम्ममा ल्याण्ड क्रुजर एफजे नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

थाइल्याण्डमा मूल्य कम भएपनि नेपालमा सीसी क्षमताको आधारमा कर लाग्ने भएको कारण ल्याण्ड क्रुजर एफजे महंगो नै हुन जान्छ । यसमा २६९४ सीसी क्षमताको इन्जिन छ । त्यसैले नेपालमा ८० प्रतिशत भन्सार र १०० प्रतिशत अन्तःशुल्क लाग्छ । त्यसैले यसको मूल्य नेपालमा निकै महंगो पर्न जान्छ ।

भन्सार र अन्तःशुल्कको अतिरिक्त मूल्यको १० प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट थपिने छ । त्यसैले नेपालमा पेट्रोल कारको मूल्य निकै महंगो बनाएको हो ।


Back_to_top