सिट मुनि ‘स्लाडिङ ट्वाइलेट’ भएको ईभी ल्याउँदै सेरेस

काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक सेरेसले सिट मुनि स्लाइडिङ (घर्रा जस्तै सर्काउन मिल्ने) विद्युतीय कार निर्माण गर्ने भएको छ । कम्पनीले कार भित्र सिट मुनि स्लाइडिङ शौचालयको लागि पेटेन्ट दर्ता गरेको हो ।

सेरेसले गत वर्षको अप्रिलमा गाडी भित्रको शौचालय भएको सवारी साधनको लागि पेटेन्ट आवेदन दर्ता गरेको थियो । उक्त पेटेन्ट सन् २०२६ अप्रिलमा स्वीकृत भएको हो ।

यो सम्भवतः कुनै ईभीमा स्लाइडिङ शौचालय भएको पहिलो पेटेन्ट हो । कारको सिट मुनि हुने यो शौचालयलाई संचालन गर्न जटिल प्रणालीहरू प्रयोग गरिने सम्भावना भए पनि प्रयोगकर्ताको दृष्टिकोणबाट यो व्यवस्थापन गर्न निकै सजिलो छ।

पेटेन्टको तस्बिरहरूमा देखिए अनुसार यो शौचालय कारको सिटमुनि राखिएको हुन्छ । यसमा घर्रामा देखिने जस्तै ‘स्लाइडिङ रेल’ संयन्त्र प्रयोग गरिएको छ। प्रयोगमा नभएको बेला यो शौचालय सिटमुनि राम्ररी लुकेर बस्छ। जब यसलाई प्रयोग गर्नुपर्ने हुन्छ, तब यसलाई घर्रा जस्तै बाहिर तान्न सकिन्छ। यसले गर्दा सामान्य अवस्थामा गाडी चलाउँदा यसले भित्री ठाउँ ओगट्दैन वा नराम्रो देखिँदैन ।

अन्य विवरणहरू नखुलाइए पनि यो शौचालयलाई प्रयोगयोग्य बनाउन ‘सक्सन’ प्रविधि प्रयोग हुन सक्छ। यसले गर्दा शौचालय सफा गर्न गाडीमा धेरै पानी बोकिरहनु पर्दैन । एउटा विद्युतीय कारमा इलेक्ट्रीक मोटर मार्फत बलियो सक्सन उत्पन्न गर्न आवश्यक ऊर्जा जुटाउनु ठूलो चुनौती हुने छैन ।

सरेसको पेटेन्ट स्वीकृत भए पनि यो प्रविधि उत्पादनकै चरणमा पुग्छ भन्ने निश्चित भने हुँदैन । यस्ता आविष्कारहरूको व्यावसायिक सफलताको भविष्यवाणी गर्न गाह्रो छ । यस गाडी भित्रको शौचालय धेरै हकमा प्रयोगहरू हुन सक्छन् । लामो यात्रामा जाँदा विशेष गरी बाटोमा शौचालयको उपलब्धता नभएको अवस्था, ट्राफिक जाममा फसेको बेला जस्ता आपतकालीन स्थितिमा उपयोगी हुन्छ ।

यस्ता शौचालयहरू कमर्शियल सवारी साधनहरूमा पनि जडान गर्न सकिन्छ, जसले डेलिभरी कर्मचारीहरूलाई निकै राहत दिनेछ। आइबीएसजस्ता विशिष्ट स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पनि यो निकै उपयोगी हुनेछ ।


Back_to_top