काठमाडौं । यामाहाले भारतमा १२५ सीसी सेग्मेन्टमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा फसिनो १२५ एफआई हाइब्रिड स्कुटरको नयाँ अपडेटेड भर्सन बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ फसिनो १२५ को सुरूवाती मूल्य ७६ हजार ५०० भारु (एक्स शोरुम) तोकेको छ ।
कम्पनीले फसिनो १२५ लाई नयाँ डिजाइनका साथै धेरै फिचरहरू थपेर ल्याएको छ । फसिनो स्कुटरको मुख्य आकर्षण भनेको यसको नयाँ रियर डिजाइन हो । यामाहाले यसको टेल भागलाई सुधारेर अझ कम्प्याक्ट बनाएको छ, जसले स्कुटरलाई स्लिम र निकै फुर्तिलो देखाउँछ ।
यसमा भी आकारको सिग्नेचर भएको नयाँ टेल लाइट, सुधारिएको फ्ल्यासर र नयाँ बडी प्यानलहरू समावेश गरिएको छ । यी परिवर्तनहरूले स्कुटरको स्टाइलिङ मात्र नभइ राइडिङ नियन्त्रणमा पनि सुधार भएको छ । साथै, नयाँ डिकल्स ग्रफिक्स पनि थपिएको छ ।
फसिनो ड्रम, डिस्क र टप स्पेक गरी तीन भेरियन्टसहित थुपै्र कलर अप्सनमा उपलब्ध छ । यसमा यामाहाको ब्लू कोर हाइब्रिड १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.२ पीएस पावर तथा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा दिइएको इन्जिनलाई २० प्रतिशत इथानोल कम्प्लाइन्टमा बनाइएको हो ।
फसिनोमा स्मार्ट मोटर जेनेरेटरका रूपमा साइलेन्ट स्टार्ट, स्टप स्टार्ट सिस्टम छ भने पावर असिस्ट, साइड स्ट्याण्ड इन्जिन कटअफ, अन्डर सिट स्टोरेज, फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन र अलोय ह्वील दिइएको छ ।
फसिनोको टप स्पेक भेरियन्टमा भने कलर टीएफटी डिस्प्ले, कनेक्ट सिस्टम, टर्न बाइ टर्न नेभिगेसन र एन्सर ब्याक फिचर पनि छ ।
पहिलो पटक सन् २०१५ मा सार्वजनिक भएको यामाहा फसिनोले लन्च भएदेखि हालसम्म १५ लाख युनिट उत्पादन पूरा गरिसकेको छ । यो अवधिमा यसमा नयाँ १२५ सीसी इन्जिनदेखि एफआई सिस्टम, हाइब्रिड टेक्नोलोजी लगायतका महत्वपूर्ण अपडेटहरू भएको छ । सुरूमा यो ११० सीसी इन्जिनमा आएको थियो ।

