एमएडब्लू हायर पर्चेजको रेटिङमा सुधार

काठमाडौं । एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड क्रेडिट रेटिङमा सुधार आएको छ । इक्रा नेपालले कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरका आधारमा क्रेडिट रेटिङ अपग्रेड गरेको हो ।

कम्पनीले दीर्घकालीन कर्जा रेटिङ एलबीबी प्लसबाट अपग्रेड भएर एलबीबीबी माइनस कायम भएको छ । त्यस्तै, अल्पकालीन रेटिङ ए ४ प्लसबाट सुधार भई ए३ पुगेको छ ।

यो रेटिङ अपग्रेडले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ। कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ ।

कम्पनीलेले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ। कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ । संचालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ।

साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी वहन गर्ने क्षमता सुदृढ बनाएको छ। यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको छ ।

पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि कम्पनीका लागि थप बलियो पक्ष हो।

एमएडब्लू हायर पर्चेज प्राइभेट सन् २०११ मा स्थापना भएको कम्पनी हो । यसको केन्द्रीय कार्यालय मोरङको विराटनगरमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ ।


Back_to_top