काठमाडौं । विद्युतीय गाडी यातायातको साधन मात्र होइन । अहिले ईभीलाई ‘टेक प्रोडक्ट’ मान्न थालिएको छ । त्यसको मुख्य कारण विद्युतीय साधनमा प्रयोग भएका सफ्टवेयर र सेन्सर हुन् ।
कुनै पनि गाडी दुर्घटनामा पर्दा आगलागीको सम्भावना धेरै रहन्छ । विद्युतीय गाडी पनि त्यसबाट अछुतो रहन सक्दैन । ईभीमा आगालागीका घटना हामीले सुन्दै आएका पनि छौं ।
पछिल्ला दिनमा चीनमा भइरहेका ईभी दुर्घटनामा गाडीको झ्यालका सीसीहरू नखुलेको समाचारहरू पनि सुन्नमा आएका छन् । त्यही कारण नै चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले फ्लस टाइप डोर ह्याण्डलको प्रयोगमा प्रतिबन्ध नै लगाएको छ ।
ईभीहरू उच्च गतिमा हुने र दुर्घटनामा चालकले होस गुमाउने खतरा रहेको कारण धेरैले ज्यान गुमाउन थालेका छन् । यस्तो घटना पछिल्लो पटक साओमीको एसयू सेभेन कारमा घटेको थियो । उक्त दुर्घटनामा कार भित्र चालक जीवित रहे पनि बाहिर निस्कन नसक्दा आगलागीमा ज्यान गएको थियो ।
नेपालमा यस्तो किसिमको दुर्घटना भएको छैन । तर, पनि आवश्यक सचेतनाको लागि चालकहरू सहजक हुनुपर्छ । त्यसैले अचानक गाडी दुर्घटना भएको खण्डमा झ्यालहरूको सिसा खोल्न के गर्ने भन्ने विषय हामीले यहाँ चर्चा गरेका छौं ।
१. सिसा फोड्ने : कारको झ्यालहरूमा प्रयोग हुने सिसा ‘टेम्पर्ड ग्लास’ हुन् । यी सिसाहरू सजिलै फुटाउन सकिन्छ । तर, दुर्घटनाको समयमा सबै कुरा मिलाएर गर्न सकिन्छ भन्ने हुँदैन । त्यसैले सिसा फोड्न चाहिन सामान गाडीमा राख्ने गर्नुहोस् ।
बजारमा इमर्जिन्सी ग्लास ब्रेकर किन्न पाइन्छ । १ हजारदेखि २ हजार रुपैयाँसम्म मूल्य पर्ने ग्लास ब्रेकर आफ्नो पहुँच पुग्ने स्थानमा राख्नुपर्छ । यदि, तपाईंसँग ग्लास ब्रेकर छैन भने सिट बेल्टको मेटल प्रयोग गरेर पनि सिसा तोड्न सकिन्छ ।
२. सिसा फोड्न पनि आइडिया लगाउनुहोस् : सिसामा सिधा मेटलको टुक्रा वा ग्लास ब्रेकरले हिर्काएर सजिलै नफुट्न सक्छ । त्यसैले ग्लासको कुन तिरको भागमा हिर्काउनु पर्छ । केही भाग चर्केपछि खुट्टाको सहायताले पूरै सिसा खोल्न सकिन्छ ।
३. सिट बेल्ट कटर बोक्ने : सिट बेल्ट पनि सेन्सरको सहायतामा रहने भएको कारण कहीले कहीँ दुर्घटना हुँदा नखुल्न सक्छ । त्यस्तो अवस्थामा सिट बेल्ट काटेर बाहिर निस्कनु पर्ने हुन्छ । त्यसैले कारमा सिट बेल्ट कटर राख्नु बुद्धिमानी हुन्छ ।
४. गाडी भित्रै हुन्छन् अन्य विकल्प : दुर्घटना भएर यस्तो अवस्थामा तपाईं पर्नु भयो र बाहिर निस्कन माथि चर्चा भएका कुरा तपाईंसँग छैन भने नआत्तिनुस् । विस्तारै सिटमा रहेको हेड रेस्ट निकाल्नुस् । त्यसमा रहेको स्टीलले झ्यालको सिसामा हिर्काउनुस् । सिसा चर्केपछि लात्तले हानेर फोड्नुस् ।
५. अगाडिको विन्डसिल फुटाउन समय खर्च नगर्नुहोस् : दुर्घटना वा आगलागी हुने अवस्था आएमा अगाडिको विन्डसिल्ड फोडेर बाहिर निस्कने योजना बनाउनु खतरा हुन्छ । विन्डसिल्ड लेमिनेटेड हुन्छ । त्यसैले सामान्य धातुको टक्करबाट फुटाउन सकिँदैन ।

