काठमाडौं । बुगाटीका सबै कार धनाढ्यहरुको सपनामा रहन्छन् । मध्यम वर्गले बुगाटी चढ्ने कल्पना नै गर्दैनन् ।
चीनले बुगाटी नै नबनाएपनि कम मूल्यमा बुगाटीको अनुभव प्रदान गर्न सक्ने गाडी बनाउन थालेको छ । चिनियाँ भ्याकुम क्लिनर निर्माता कम्पनीले ड्रीम नेबुला–०१ एक्स ‘फास्टब्याक’ एसयूभीको प्रोटोटाइपको इन्टेरियर बाहिर ल्याएसँगै यसको चर्चा थप चुलिएको हो । बाहिरी डिजाइन भने दुई महिना अगाडि सार्वजनिक भएको थियो ।
कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०२६ मा पहिलो पटक नेबुला–०१ एक्स मोडल देखाएको थियो । त्यतिबेला बाहिरी भाग मात्रै देखाएको थियो । मे ६ तारिखमा चिनियाँ अटो विज्ञ हान लुले आफ्नो ६० लाखभन्दा बढी फलोअर्स भएको शोसल मिडिया प्लेटफर्म विभोमा यसको इन्टेरियर सार्वजनिक गरेका थिए ।
बाहिर आएको तथ्यांकले गाडीको कन्सेप्टको सुरुवाती इन्टेरियर भएको देखाउँछ । यसको प्रोडक्सन मोडलसम्म पुग्दा धेरै खाले परिमार्जन देख्न पाइनेछ । कारमा बी पिलरको प्रयोग भएको छैन । रबरको सिल बीनानै तयार पारिएको ढोकाका सीलहरु, बिना फ्रेमका ढोकाहरु, क्याप्टेन सिट, ड्यासबोर्डको बीचमा फ्लोटिङ स्क्रीन दिएको देखिन्छ ।
थ्री स्पोक स्टेयरिङ ह्वील, पातलो एलसीडी स्क्रीन दिइएको छ । नयाँ सार्वजनिक भएको तस्बिरमा नेबुला-०१ एक्सको फ्रन्ट ग्रिलमा परिमार्जन छ । साथै, ह्वीलमा पनि फरक पाउन सकिन्छ । हेडलाइटहरु र बडी डिजाइन भने उस्तैछ । यसमा इलेक्ट्रोम्याग्नेटीक सस्पेन्सन प्रयोग हुनेछ । उक्त सस्पेन्सनले २५ प्रतिशत कर्नरिङमा सुधार गर्नेछ भने ३० प्रतिशतले चिसो र चिप्लो स्थानमा पकड बढाउँछ । यसमा ४५० वाटआवर केजी ऊर्जा घनत्व भएको सोलिड स्टेड ब्याट्रीको प्रयोग हुने खुलाइएको छ ।
यसमा चार वटै चक्कामा अलग अलग इलेक्ट्रीक मोटर रहनेछन् । यसको संयुक्त पावर १८७६ एचपी हुनेछ । यसलाई सून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन १.८ सेकेन्ड लाग्नेछ । नेबुला-०१ एक्सलाई इआरईभी हाइब्रिड इन्जिनमा पनि ल्याउने तयारीमा कम्पनी रहेको खुलाइएको छ ।


