काठमाडौं । अर्थतन्त्रको ड्राइभिङ सिटमा बस्नेले सधैँ कारलाई विलासी बस्तुको नजरबाट हेर्दै आए ।
कमजोर प्रतिब्यक्ति आय भएको देशमा ठूलो संख्यामा कार बिक्री हुन्छ भन्ने अनुमान पनि लगाउन सकिँदैन । तर, सानाभन्दा ठूला कार धेरै बिक्री भएको भने देख्न पाइन्छ ।
अत्यावश्यक साधनको रुपमा प्रयोग हुने कारको बजार वार्षिक औषत १२÷१३ हजारको मात्रै देखिदै आएको छ । तर, यही १२÷१३ हजार युनिट कार बिक्री हुने बजारमा ह्याचव्याक कारको हिस्सा निकै कमजोर बन्दै गएको देखिन्छ ।
सरकारले साना कारमा कर पनि कम लगाउँदै आएको छ । तरपनि साना कारको आयात र बिक्री अत्यन्त कम छ । अर्थतन्त्रका जानकारहरु यसलाई प्रतिब्यक्ति आय र खर्च गर्न सक्ने समर्थय बन्न नसकेको रुपमा बुझ्छन् ।
‘उपभोक्ताको खर्च योग्य बचत राम्रो भएको भए सवारी साधन प्राथमिकतामा पर्थ्यो होला । यहाँ निम्न मध्यम आय भएका मानिसले आम्दानी बढाउन सकेका छैनन् । त्यसैले साना कार किन्ने मानिस कम छन् । आम्दानी नियमित र धेरै भएका मानिसको रोजाइमा साना कार पर्दैनन्’, अर्थशास्त्री विश्वास गौचनले भने ।
उनका अनुसार अर्थतन्त्रको तिब्र विकास हुँदा साना/ठूला सबै निजी साधनको बिक्री बढ्छ । अहिले नेपालमा पैसा कमाउन सक्नेको पहिलो प्राथमिकता घर र दोस्रो गाडी किन्ने भएको देखिन्छ ।
निरन्तर कमजोर बन्दै साना कार
साना कारको बिक्री पछिल्ला तीन वर्षमा निरन्तर घट्दै गएको देखियो । पेट्रोलबाट चल्ने ह्याचव्याक कारको बिक्रीमा गिरावट आएसँगै साना कारको बजार सकिँदै गएको देखिन्छ ।
सन् २०२४ मा करिब ३३ प्रतिशत कारको हिस्सा सानो ह्याचव्याक मोडलले ओगटेको थियो । यसमा बीवाइडी डल्फिन र टाटा टियागोको भूमिका सबैभन्दा ठूलो बन्यो । २०२४ मा कुल १३ हजार ७८२ युनिट कार नेपाल आयात भयो । त्यसमा साना र प्रिमियम ह्याचव्याक कारको संख्या ४ हजार ५५९ युनिट थियो । जुन कुल आयातको ३३ प्रतिशत हाराहारी थियो ।
सन् २०२५ मा १५ हजार ८८७ युनिट चार पाङ्ग्रे साधन आयात भयो । त्यसमध्ये ३ हजार ५९१ युनिट साना र प्रिमियम ह्याचव्याक सेग्मेन्टका कार आयात भए । २०२५ मा कुल आयातको २३ प्रतिशत बजार हिस्सा साना कारले लिए । यसमा डोङफेङ नामी बक्स, टाटा टियागो र बीवाइडी डल्फिन मुख्य मोडल थिए ।
सन् २०२६ लागेपछिको तथ्यांक हेर्दा साना कारको बजार नै सकिएको भान हुन्छ । चालु वर्षको साँढे तीन महिनामा ४०९ युनिट ह्याचव्याक कार आयात भएका छन् । यस अवधिमा ३ हजार २१२ युनिट कार आयात भएकोमा साना र प्रिमियम ह्याचव्याक कारको आयात हिस्सा १२ प्रतिशत मात्रै छ । यसले पनि साना कारको बजार घट्दै गएको संकेत गर्छ ।
विकल्प भने धेरै
साना कार खोज्नेको लागि पेट्रोल र ईभी दुबैमा धेरै विकल्प छन् । अहिले बजारमा चर्चामा रहेका बीवाइडी एटो वान, डोङफेङ नामी बक्स, टाटा टियागो, हुन्डाई ग्राण्ड आई १०, सुजुकी स्वीफ्ट, सेलेरियो, केई इक्यूट, एमजी कोमेट जस्ता साना कार छन् ।
माथि चर्चा बाहेक पनि दर्जनौ मोडलहरु बिक्रीको लागि उपलब्ध छन् । तर, उपभोक्ताको ध्यानभने खिच्न सकिएको छैन ।


