पथलैया-अमलेखगञ्ज सडकमा दुइटा ओभरपास बनाउन प्रस्ताव

तस्बिर : एआइ ।

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा दुई वटा ओभरपास निर्माण गर्न प्रस्ताव गरिएको छ । ८ किलोमिटर दूरीको यो सडकखण्डमा वन्यजन्तु वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागमा प्रस्ताव गरिएको हो ।

हाल दुई लेनमा रहेको यो सडकलाई चारलेनमा स्तरोन्नति गरिँदै छ । यो सडकमा सवारी साधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो ।

प्राप्त सुझाव अनुसार निकुञ्ज क्षेत्र भित्र दुइटा ओभरपास निर्माण गर्न सडक विभाग समक्ष प्रस्ताव गरिएको सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले बताए । उनले सडक विस्तार गर्दा वन्यजन्तुको सुरक्षा र आवतजावतका लागि निकुञ्ज क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने सुझाव आएको बताए ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावरमैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गरे ।

‘सवारीसाधनको ठक्करले राजमार्गमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको कोरएरिया पर्ने आठ किलोमिटरमा ओभरपास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो,’ उनले भने ।

अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।


Back_to_top