काठमाडौं । भारतीय दुईपाँग्रे निर्माता टीभीएसको रेडर १२५ मोटरसाइकलले १९ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको छ ।
टीभीएसको लोकप्रिय कम्युटर मोटरसाइकल टीभीएस रेडर सार्वजनिक भएको साढे ४ वर्षमै १९ लाखभन्दा बढी युनिट बिक्रीको कीर्तिमान कायम गरेको हो।
यो मोटरसाइकल सन् २०२१ सेप्टेम्बरमा बजारमा आएको थियो । यसले १२५ सीसी सेग्मेन्टमा बलियो उपस्थिति जनाउँदै प्रतिस्पर्धी मोडलहरू बीच आफूलाई सफल रूपमा स्थापित गरेको हो।
कम्पनीका अनुसार टीभीएस रेडरले हालसम्म कुल १९ लाख युनिट बिक्री पार गरिसकेको छ । यसमध्ये १६.२ लाख युनिट भारतीय बजारमा बिक्री भएका छन् भने २.८६ लाख युनिट अन्य देशमा निर्यात गरिएको छ। भारतमा मात्र हेर्दा यो मोडलले टीभीएसको कुल मोटरसाइकल बिक्रीको ३१ प्रतिशत हिस्सा ओगटेको छ ।
तुलनात्मक रूपमा टीभीएसको चर्चित अपाचे सिरिजले सोही अवधिमा २०.७ लाख युनिट बिक्री गरेको थियो । जुन कम्पनीको कुल मोटरसाइकल बिक्रीको ३८ प्रतिशत हिस्सा हो । यद्यपि अपाचे सिरिजमा विभिन्न मोडल समावेश छन् भने रेडरले एकल मोडलका रूपमा यो उपलब्धि हासिल गर्न सफल भएको हो।
रेडरले सबैभन्दा उत्कृष्ट प्रदर्शन आर्थिक वर्ष २०२४ मा गरेको थियो। उक्त वर्ष यसको बिक्री दोब्बर बढ्दै ४.७८ लाख युनिट पुगेको थियो, जबकि आर्थिक वर्ष २०२३ मा २.३९ लाख युनिट मात्र बिक्री भएको थियो। सो वर्ष टीभीएसको रेडर सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल समेत बनेको थियो र यसले अपाचे सिरिजलाई १ लाखभन्दा बढी युनिटले उछिनेको थियो।
आर्थिक वर्ष २०२५ मा यसको मागमा केही गिरावट आएको थियो। उक्त अवधिमा बिक्री १६ प्रतिशतले घटेर ३.९९ लाख युनिटमा सीमित भएको थियो । तर आर्थिक वर्ष २०२६ मा भने रेडर पुनः लयमा फर्किएको देखिएको छ । कम्पनीले सो वर्ष ४.२७ लाख युनिट बिक्री गर्दै वार्षिक आधारमा ७ प्रतिशत वृद्धि हासिल गरेको कम्पनीले जनाएको छ।


