यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) विजयी भएका छन् ।

पोखरामा वैशाख २७ गतेदेखि सुरू भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न मतदानमा सिटौलाले १ हजार ३० मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्धन्द्धी ५६६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । उनका प्रत्यासी केसीले ४६४ मत प्राप्त गरे ।

यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भए । सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए । त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भए । सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए । सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी भएका निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

महाधिवेशनमा देशभरबाट सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका गरी २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।


Back_to_top