बीवाइडीको नयाँ एसयूभी तीनपाँग्राले नै गुडने, टायर फेर्न ज्याक नचाहिने

काठमाडौं । न्यू इनर्जी भेहिल जायन्ट बीवाइडीले प्रविधि र इन्जिनियरिङ तीव्र फड्को मारिरहेको छ । यसैक्रममा बीवाइडीले आफ्ना कार तीन चक्काले मात्रै गुड्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

बीवाइडीले सार्वजनिक गरेको नयाँ २०२६ मोडल फ्याङचेनबाओ बाओ ५ र बाओ ८ एसयूभीमा यस्तो सुविधा (फ्यास चार्जिङ सहित) दिएको हो । बीवाइडीले यी एसयूभीमा ‘डिसस पी अल्ट्रा’ सस्पेन्सन प्रयोग गरेको हो ।

डिसस पी अल्ट्रामा २०० एमएमको बडी उचाइ समायोजन गर्ने क्षमता, ९ टनको भार उठाउन सक्ने शक्ति छ । जसले जस्तो सुकै बाटोमा पनि चारवटै पाँग्रालाई उचालेर अप्ठ्यारोबाट बाहिर निकाल्न सक्छ ।

यो प्रणालीले कुनै पनि ज्याकको प्रयोग बिना टायर फेर्नका लागि एउटा पाँग्रालाई हावामा उठाउन अनुमति दिन्छ । यसले पाँग्रालाई ३ मिनेटसम्म होल्ड गरेर राख्न सक्छ भने तीन वटा पाँग्रा गुडाएर मात्र पनि सवारी चलाउन सकिन्छ । यो टायर पड्किएको अवस्थामा वा सडक अति साँघुरो भएको चरम अफरोडिङका बेला धेरै उपयोगी हुन सक्छ । यो प्रणाली माइनस ४० देखि ८५ डिग्री सेल्सियससम्मको चरम तापक्रममा काम गर्न सक्ने गरी प्रमाणित गरिएको छ ।

बीवाडीले बाओ ५ र बाओ ८ मा १००० भोल्टको फ्ल्यास चार्जिङ सुविधा पनि उपलब्ध गराएको छ । बीवाइडीले ‘टाइ’ सिरिजमा फ्ल्यास चार्जिङ दिएकोमा अहिले बाओमा पनि प्रयोग गरेको हो ।

फ्ल्यास चार्जिङले १० सी रेटिङका साथ १००० भोल्टको डीसी चार्जिङ सुविधा दिन्छ । जसले १० प्रतिशतबाट ७० प्रतिशतसम्मको चार्ज मात्र ५ मिनेटमा गर्न सक्छ र ९ मिनेटमा ९७ प्रतिशतसम्म पुग्न सक्छ ।

बीवाइडीले गत मार्चमा फ्यास चार्जिङ लन्च गरेको थियो । त्यसपछि एकपछि अर्को मोडलमा यो प्रविधि उपलब्ध गराउँदै आएको छ ।

बीवाइडीले सन् २०२६ को अन्त्यसम्ममा चीनभर २० हजार वटा १००० भोल्टका फ्ल्यास चार्जरहरू जडान गर्ने योजना समेत बनाएको छ ।


Back_to_top