परीक्षणकाे क्रममा देखियो सुजुकीको नयाँ ईभी

काठमाडौं । मारुती सुजुकीको नयाँ विद्युतीय कार सडक परीक्षणको क्रममा देखिएको छ । पूर्ण रूपमा छोपेर सडकमा गुडाइरहेको नयाँ ईभीको तस्बिर बाहिरिएको हो ।

सार्वजनिक तस्बिरमा देखिए अनुसार उक्त नयाँ ईभी मारुती सुजुकीको वाइएमसी ७ सिटे एमपीभी रहेको संकेत गरिएको छ ।

विशेष जेब्रा स्ट्राइपले ढाकेर परीक्षण भइरहेको उक्त गाडीमा देखिएको लामो ह्वीलबेस, पछाडिको भाग, ठूलो बुट ओपनिङ भएको एउटा अग्लो र बक्स आकारको एमपीभी हो भन्ने पुष्टि हुन्छ ।

यसको अगाडिको भागमा बन्द गरिएको ग्रिल क्षेत्र देखिन्छ । जसले भित्र इलेक्ट्रीक मोटर र ब्याट्री (इलेक्ट्रीक पावरट्रेन) रहेको संकेत गर्छ। यसको दायाँबायाँ आकर्षक हेडल्याम्प क्लस्टरहरू रहेका छन् । साइड प्रोफाइल हेर्दा यसको रूफलाइन अग्लो र तीनै लहरका सिटहरूमा पर्याप्त विन्डो एरिया देखिन्छ ।

पछाडिको भागबाट लिइएको तस्बिरहरूले ठाडो टेल ल्याम्पहरू सहितको चेप्टो वा वर्गाकार पछाडिको भाग देखाउँछन् । यसको बनावट र अनुपातले यो गाडी लगभग ४.५ मिटर लामो हुने अनुमान गर्न सकिन्छ ।

यो एमपीभी सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुवातातर्फ बिक्रीका लागि बजारमा आउने अपेक्षा गरिएको छ । वाइएमसीलाई टोयोटासँगको सहकार्यमा विकास गर्न सकिने सम्भावना छ । यस्तो रणनीति ई भिटारा र चाँडै नै सार्वजनिक हुन लागेको टोयोटा अर्बन क्रुजर इबेलामा अपनाइएको थियो।

नयाँ एमपीभीले ई भिटारासँग आफ्ना प्लेटफर्म र पावरट्रेनका पार्टपूर्जाहरू सेयर गर्ने अपेक्षा गरिएको छ । यसको उत्पादन मारुती सुजुकीको गुजरात प्लाण्टमा हुन सक्छ, जहाँ ई भिटाराको पनि उत्पादन हुन्छ ।

यसमा ई भिटारा जस्तै ४९ किलोवाट आवर र ६१ किलोवाट आवरका ब्याट्री प्याकहरू प्रयोग हुने सम्भावना छ । जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।

यसको मूल्य किया कारेन्स क्लाभिस ईभी भन्दा कम हुने अनुमान गरिएको छ । जसले गर्दा वाइएमसी व्यवहारिक र उपयोगी तीन रो भएको ईभी खोजिरहेका पारिवारिक ग्राहकहरूका लागि निकै सुलभ बन्न सक्छ ।


Back_to_top