काठमाडौं । बजाजले प्लाटिना ईएस मोटरसाइकलको नयाँ भर्सन नेपालमा सार्वजनिक गरेको छ ।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले भृकुटीमण्डपमा जारी ग्राण्ड एक्सचेन्ज कार्निभलमा प्लाटिना १०० ईएसको नयाँ भेरियन्ट बिक्री सुरू गरेको हो ।
कम्पनीले प्लाटिना १०० ईएस नयाँ भर्सनको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ । यसको पुरानो भर्सनको मूल्य २ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ ।
बजाजले नयाँ प्लाटिना ‘पेट्रोल सुँघाए पुग्छ’ थिमका साथ प्रदर्शन तथा बिक्री गरिरहेको छ । पेट्रोल सुँघाए पुग्छ थिमको मतलब प्लाटिनाले दिने माइलेजलाई बुझाउँछ । प्लाटिनाले १ लिटर पेट्रोलबाट ७० किलोमिटरभन्दा माथिको माइलेज दिने कम्पनीको दाबी छ ।
प्लाटिनामा ११.५ लिटरको इन्धन ट्यांकी दिइएको छ । यो मोटरसाइकलमा फुलट्यांकी तेल भरेर ८०० किमीभन्दा बढी यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।
नयाँ प्लाटिनामा ग्राफिक्स लगायत अन्य केही सानातिना अपडेटहरू भएका छन् । प्लाटिनामा पहिले कार्बुरेटर इन्जिन सिस्टम थियो भने अब एफआई प्रणालीको इन्जिन सेटअप पाउन सकिन्छ ।
यसमा डीटीएसआई प्रविधिको ९९.५९ सीसी क्षमताको सिंगल सलिण्डर, फोर स्ट्रोक, टु भल्व इन्जिन छ । यो इन्जिनले अधिकतम ८.२ पीएस पावर र ८.३ एनएमको टर्क जेनेरेट गर्छ । ४ स्पीड गियरबक्स सेटअप दिइएको यो मोटरसाइकलको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । बजाज प्लाटिनाले माइनस ५ देखि ५० डिग्री सम्मको मौसममा चलाउँदा पनि उही पावर र माइलेज दिन्छ ।
त्यस्तै, मोटरसाइकलमा नयाँ आकर्षक दुई कलर ग्राफिक्स, चार्जिङ पोर्ट, ओटू सेन्सर र चेक इन्जिन लाइट लगायतका फिचर थप भएर आएको छ ।
बजाजको प्लाटिना इन्ट्री लेभल मोडल भए पनि यसमा इलेक्ट्रीक स्टार्ट सिस्टम उपलब्ध छ । नयाँ ग्राफिक डिजाइन, स्लिक रियर प्यानल र क्रोम हिट शिल्ड सहितको ब्ल्याक साइलेन्सरले यसको डिजाइन र स्टाइललाई थप आकर्षक बनाएको छ ।
प्लाटिनामा ब्लू-टिङड हेडल्याम्प र एलईडी डीआरएल छ । जसले रातको समयमा क्लियर भिजिबिलिटी प्रदान गर्छ । ट्युबुलर सिंगल डाउन ट्युब एण्ड लोअर क्रेडल फ्रेम र एड्भान्स कम्फर्ट टेक्नोलोजीमा निर्माण भएको प्लाटिनाको फ्रन्टमा फोर्क र रियरमा एसएनएस सस्पेन्सन सेटअप, दुवै टायरमा ड्रमब्रेक, अलोय ह्वील, स्पोर्टि ग्राफिक्स डिजाइन, लामो सिट, स्ट्याण्डर्ड ब्रेकिङ सिस्टम लगायतका फिचरहरू छन् ।


