काठमाडौं । टाटा मोटर्सले आगामी साता (मे २८)मा लन्च गर्ने टियागो फेसलिफ्टको बाहिरी डिजाइन सार्वजनिक गरेको छ । टाटाले व्यापक रूपमा अपडेट गरेको २०२६ टियागोको आइसीई र इलेक्ट्रीक दुवै भर्सनको एक्सटेरियर सार्वजनिक गरेको हो ।
टाटाले सार्वजनिक गरेको नयाँ तस्विर अनुसार टियागो ह्याचब्याक पूर्ण रूपमा नयाँ डिजाइन गरिएको छ । यसको अगाडि र पछाडिको भागमा नयाँ लाइटिङ र थपिएका फिचरहरू देख्न सकिन्छ । टिटागो आइसीई र ईभी दुवैमा अहिले पातलो एलईडी हेडल्याम्प र सफा डिजाइन सहितको नयाँ फ्रन्ट फेसिया दिइएको छ ।
ईभीको अगाडिको भाग पूर्ण रूपमा बन्द छ, जसमा ठाडो बम्पर एलिमन्ट्स र तलपट्टि ठूलो एयर इनटेक एरिया रहेको छ । आइसीई भर्सनमा भने ग्लस ब्ल्याक फिनिसिङ भएको परम्परागत ग्रिल नै कायम राखिएको छ।
यसको हेडल्याम्प सेटअप पहिलेभन्दा बढी एंगुलर देखिन्छ । यसमा एलईडी डीआरएल जोडिएको छ । पछाडिको भागमा टाटाले कनेक्टेड स्टाइलको एलईडी टेल ल्याम्प दिएको छ । जसमा स्मोक्ड ट्रिटमेन्ट गरिएको छ। यसले गर्दा टियागो पहिलेभन्दा निकै फराकिलो र प्रिमियम देखिएको छ ।
आइसीई भर्सनमा नयाँ एलोय ह्वीलको डिजाइन पनि देख्न सकिन्छ। ओआरभीएममा जडान गरिएका क्यामराहरूले यसमा ३६० डिग्री क्यामरा प्रणाली थपिएको पुष्टि गर्छन् । जुन टियागो लाइनअपका लागि यो सेगमेन्टकै पहिलो फिचर बन्न सक्छ । टियागो ईभीमा भने नयाँ एरो ह्वील्स डिजाइन देखिएको छ ।

पेट्रोलरसीएनजी भर्सनको बम्परमा फग ल्याम्पहरू समावेश गरिएको छ, जबकि सार्वजनिक गरिएको टियागो ईभी भेरियन्टमा फग ल्याम्पहरू पूर्ण रूपमा गायब छन् । आइसीई टियागो फेसलिफ्टको डोर ह्याण्डल र विन्डो सिलमा क्रोम गार्निश दिइएको छ । ईभीको विन्डो सिलमा क्रोम गार्निश छैन ।
दुवै भर्सनमा परिमार्जित अगाडि र पछाडिको बम्परका साथै टेलगेट र लाइटिङको वरिपरि नयाँ डिटेलिङ गरिएको छ । टाटाले बम्परको तल्लो हिस्सालाई पनि सफा ज्यामितीय प्याटर्नमा रिडिजाइन गरेको छ । समग्रमा टाटाले टियागोलाई अझ आधुनिक लुक्स दिएको छ ।
टाटाले दुवै भर्सनमा नयाँ कलर अप्सन समेत थपेको छ । टियागो ईभी हल्का मिन्ट ग्रीन र आइसीई भर्सनमा आकर्षक कोरल ओरेन्जमा ल्याएको छ । ह्याचब्याक लाइनअपलाई युवापुस्ता लक्षित गरी यी नयाँ रङहरू समावेश गरिएको देखिन्छ ।
टाटाले अहिलेसम्म टियागो फेसलिफ्टको इन्टेरियर सार्वजनिक गरेको छैन । तर, टाटाले नयाँ टियागोमा पनि गत वर्ष सुरु गरिएको नयाँ ड्यासबोर्ड लेआउटलाई नै निरन्तरता दिइने अपेक्षा गरिएको छ । यसमा पहिले नै १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, इल्युमिनेटेड टाटा लोगो भएको स्टेयरिङ ह्वील, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधाहरू उपलब्ध छन् ।
साथै, टियागो फेसलिफ्टमा ठूलो डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पछाडि एसी भेन्ट वायरलेस चार्जर र माथिल्लो ट्रिमहरूमा सनरुफ समेत उपलब्ध हुने सम्भावना छ । टाटाले आफ्नो नयाँ ‘पर्सोना’ रणनीति अनुसार भेरियन्टको नामकरणमा पनि परिमार्जन गर्न सक्छ ।
फेसलिफ्ट टियागोमा पावरट्रेन भने हालकै निरन्तरता दिने सम्भावना छ । टियागो आइसीईमा १.२ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ । यसमा म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प उपलब्ध हुनेछ ।
टाटाले टियागो ईभीमा भने हालै पन्च ईभी फेसलिफ्टमा जस्तै अपडेटेड ब्याट्री केमिस्ट्री र छिटो चार्जिङ सपोर्ट दिन सक्छ । हाल टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री अप्सन छ । जसले २९३ किलोमिटरसम्म रेन्ज दिन्छ । नयाँ टियागो ईभीको टप भेरियन्टमा भने नयाँ ३० किलोवाट आवरको ब्याट्री प्याक हुने सम्भावना छ ।


