जीओ अटोमोबाइल्सले ६७ लाखमा बिक्री थाल्यो एमजी हेक्टर

काठमाडौं । जीओ अटोमोबाइलले नेपालमा एमजी हेक्टर बिक्री सुरू गरेको छ । जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक डिलरशिप लिएसँगै जीओ अटोमोबाइल्सले एमजी हेक्टर पनि बिक्री थालेको हो ।

जीओले गत सातादेखि एमजी कोमेट ईभी र विन्डसर ईभी बिक्री सुरू गरिसकेको थियो । त्यसअघि इन्डिया मेड एमजी पारमाउन्ट मोटर्सले बिक्री गर्दै आएको थियो ।

कम्पनीले हेक्टरको चार भेरियन्ट उपलब्ध गराएको छ । जसमा सुरूआती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यससँगै नेपालमा एमजी ब्राण्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता र अझ आकर्षक एक्स्टेरियर छ । समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने कम्पनीको दाबी छ ।

नयाँ हेक्टरमा प्रिमियम इन्टेरियर सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो क्याबिन र प्रयोगकर्तामैत्री फिचर छन् । पुरानोको तुलनामा नयाँ हेक्टर डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ ।

नयाँ एमजी हेक्टर १.५ लिटरको दर्बोचार्ज्ड इन्टरकुलेड पेट्रोल इन्जिन छ । जसले १४३ पीएस तथा २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र सीभीट गियर अप्सन उपलब्ध छ ।

जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए । ‘एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो । यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य-सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ,’ उनले भने, ‘नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’

उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्नेहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।


Back_to_top