काठमाडौं । चिनियाँ अनुसनधानकर्ताहरूले विद्युतीय सवारीमा प्रयोग हुने सोलिड स्टेट ब्याट्री विकासमा ठूलो सफलता हात पारेका छन् ।
चिनियाँ विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले उच्च ऊर्जा घनत्व भएको भएको सोलिड स्टेट लिथियम मेटल ब्याट्री विकास गरेका हुन् । उनीहरूले अमेरिकी केमिकल सोसाइटीको जर्नल प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।
चिनियाँ अनुसनधानकर्ताले विकास गरेको सोलिड स्टेट ब्याट्रीको ऊर्जा घनत्व ४५१.५ वाट आवर प्रतिकिलोग्राम रहेको छ । जुन हाल बजारमा ईभीमा प्रयोग भइरहेका ब्याट्री सेलहरूको २०० वाट आवर प्रति किलोग्रामभन्दा दोब्बर बढी हो ।
अनुसन्धान पत्रका अनुसार यस ब्याट्रीलाई अत्यन्त तीव्र गतिमा चार्ज र डिस्चार्ज गर्न सकिन्छ । यसले २० सी अर्थात् ३ मिनेटमै चार्ज हुने क्षमता राख्दछ । यस ब्याट्रीले २० सीको चक्रमा ४.७ भोल्टको उच्च निकेल पोजेटिभ ध्रुवसँग जोड्दा ८१.९ प्रतिशत क्षमता कायम राख्दै ७०० चक्रसम्म स्थिर कार्यसम्पादन गरेको थियो ।
साथै, यो ब्याट्री सेलले किला ठोपेर गरिने कडा फुट्न सक्ने परीक्षणमा पनि सफलता पाएको छ । जसलाई अनुसन्धानकर्ताहरूले यसको उच्च आन्तरिक सुरक्षाको प्रमाणको रूपमा व्याख्या गरेका छन् ।
प्रकाशित जर्नल अनुसार यो अनुसन्धान पोलिभिनाइलिडिन फ्लोराइडमा आधारित पोलिमर विद्युत् विच्छेद (इलेक्ट्रोलाइट)मा केन्द्रित थियो । यसको अक्सिजन स्थिरता र आयोनिक चालकताका कारण सोलिड स्टेटको ब्याट्रीहरूका लागि यो सामग्रीको व्यापक अध्ययन गरिँदै आएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यस पोलिमर विद्युत् विच्छेद्यमा प्रयोग गरिने परम्परागत घोलकहरूमा प्रायः कमजोर विद्युत् रासायनिक स्थिरता हुन्छ । यसले गर्दा इलेक्ट्रोडको मिलन बिन्दुमा लगातार विघटन भई लिथियम धातुको ऋणात्मक ध्रुव र उच्च भोल्टेजको धनात्मक ध्रुवसँगको अनुकूलता सीमित हुन पुग्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यो दृष्टिकोणले दुवै विद्युत् पोलहरूमा हुने नेगेटिभ प्रतिक्रियालाई कम गर्दै एक स्थिर र लिथियम फ्लोराइड युक्त सुरक्षात्मक तह निर्माण गर्न सक्षम भएको थियो ।
यो पछिल्लो नतिजाले चिनियाँ ब्याट्री कम्पनीहरू र अनुसन्धान संस्थाहरूबाट भइरहेका सोलिड स्टेटको ब्याट्री सम्बन्धी बढ्दो घोषणाहरूमा अर्को एउटा सफलता थपेको छ ।
ग्यानफेङ लिथियम कम्पनीले आफ्नो ४०० वाट आवर प्रति किलोग्रामको सोलिड स्टेटको ब्याट्रीले १,१०० भन्दा बढी चक्र पार गरिसकेको र प्राविधिक प्रमाणीकरण पूरा गरेको जनाएको छ । जबकि ५०० वाट आवर प्रति किलोग्राम श्रेणीको १० एम्पियर आवर क्षमताको उत्पादन सानो स्तरमा सुरू भइसकेको छ ।
यसअघि मे महिनामा चिनियाँ नयाँ कम्पनी प्योर लिथियमले आफ्नो सोलिड स्टेटको ब्याट्रीले काम गरिरहेको बताएको थियो । यसको उत्पादन क्षमता वार्षिक ५०० मेगावाट आवर पुगेको बताएको थियो।
धेरै चिनियाँ ब्याट्री आपूर्तिकर्ताहरूले २०२६ र २०२७ को बीचमा सोलिड स्टेट ब्याट्रीको व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखेका छन् । सीएटीएल कम्पनीले यसअघि ५०० वाट आवर प्रति किलोग्राम क्षमताको सोलिड स्टेटको सेलहरूको परीक्षण उत्पादन कार्य भइरहेको खुलासा गरेको थियो । त्यस्तै, सनवोडा र फारासिस इनर्जीले पनि ४०० देखि ५०० वाट आवर प्रति किलोग्रामको ब्याट्री विकास गर्ने घोषणा गरेका छन् ।
चीनमा सोलिड स्टेटको ब्याट्रीहरूमा तीव्र अनुसन्धान भइरहे तापनि चीनको विद्युतीय गाडीको ब्याट्री बजारमा अझै पनि लिथियम आइरन फोस्फेट प्रविधिकै वर्चश्व रहेको छ ।
पछिल्लो प्रतिवेदनको अवधिमा १९.५३ गिगावाट आवर क्षमताको ब्याट्री जडान गर्दै सीएटीएल सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । जसको बजार हिस्सा ३८.९ प्रतिशत रहेको छ । बीवाईडी कम्पनी १०.४९ गिगावाट आवर आपूर्ति गरेको छ । यसको बजार हिस्सा २०.९ प्रतिशत छ ।


