इटालीयन अटो कम्पनी फियाट क्रिसलरले फ्रान्सेली कार उत्पादक कम्पनी रेनोसँग मर्जर प्रस्ताव राखेको छ । उक्त प्रस्तावले जापनी अटो उत्पादक कम्पनी निसान समस्यामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । निसानले धेरै स्थानमा रेनोसँग प्लान्ट सेयरिङमा काम गर्दै आएको छ ।
फियाटले गरेको प्रस्तावलाई तत्काल रेनोले मौन स्वीकार गरेको छ । यदी यी दुई कम्पनीबीच मर्जर भयो भने त्यसपछि बन्ने नयाँ कम्पनी संसारकै तेस्रो ठूलो कार उत्पादक हुनेछ । २०१८ को तथ्याङ्कलाई आधार मान्ने हो भने यी दुई कम्पनीको कार बिक्री ८७ लाख हुन आउँछ ।
यदी यी दुई कम्पनी एक आपसमा मर्ज भएको खण्डमा नयाँ कम्पनीको मूल्यांकन ४० अर्ब डलर हुनेछ । मे २३ मा जापानबाट फ्रान्स फर्केका निसानका पूर्व अध्यक्ष कार्लोस घोषनको सक्रियतामा नयाँ प्रस्ताव बाहिर आएको चर्चासमेत सुरु भएको छ ।
फियाटको प्रस्तावमा दुबै कम्पनीको स्वाप रेसियो ५०:५० प्रतिशतको हुने छ, भने ११ सदसीय बोर्डमा रेनो र फियाटबाट ५/५ जना रहने छन् । त्यस्तै निसानलाई एक सदस्य दिने उल्लेख छ ।
यसअघि निसान, रेनो र मित्सुविसीबीच मर्जर गर्न कार्लोस घोषनको अध्यक्षतामा कमिटि गठन गरिएको थियो । यसै वर्षको सुरुमा निसानको बोर्ड बैठकमा भाग लिन गएको समयमा आर्थिक अनियमितता गरेको भन्दै घोषनलाई टोकियोमा गिरफ्तार गरेपछि यी कम्पनीबीच मर्जरको कुराले गति लिन सकेको थिएन ।
रेनो कम्पनीमा फ्रान्स सरकारको १५ प्रतिशत हिस्सेदारी भएको कारण सरकारले मर्जर प्रस्तावको स्वागत गर्दै केही समय अध्ययनको लागि मागेको छ ।
एफसीएले गरेको प्रस्तावमा यदी यी दुई कम्पनी बीच मर्जर हुने हो भने हरेक वर्ष रिसर्च, खरिद लागत र अन्य पार्टस सेयरिङबाट वार्षिक ५.६ अर्व डलर बचत हुने उल्लेख गरिएको छ ।
यी दुई कम्पनीको मर्जर प्रस्तावमा कम्पनीको नयाँ अध्यक्ष सियोन जाँन एल्कन हुने उल्लेख छ, अहिले उनिसँग एफसिएको २९ प्रतिशत सेयर रहेको छ । साथै रेनोको अध्यक्ष जेन डाँमिनिकलाई सीईओ बनाउने प्रस्ताव गरिएको छ ।
मर्जरको प्रस्ताव बाहिर आएसँगै दुबै कम्पनीको सेयरमा उछाल आएको छ । कम्पनीका लगानीकर्तामा आएको उत्साहले रेनोको सेयरमा १४ प्रतिशत र एफसीएको सेयरमा १० प्रतिशतको उछाल आएको हो ।

