काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले प्रायः सबै किसिमका गाडी मूल्य बढाउने देखिएको बताएको छ ।
नाडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै संघीय संसदमा प्रस्तुत पेश गरेको आगामी आवको बजेट बारे आधिकारिक धारणा सार्वजनिक गर्दै यस्तो बताएको हो ।
सरकारको वर्तमान कर नीतिले विद्युतीय लगायत इन्धनबाट चल्ने सवारी साधनहरू समेतको मूल्य बढने देखिएको नाडाको भनाइ छ ।
सरकारले बजेट मार्फत विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ । त्यस्तै, मोटर पावरमा काआधार कर निर्धारण हुँदै आएकोमा अब मूल्यका आधारमा गर्ने भएको छ । जसले गर्दा प्रायः सबै किसिमका सवारी साधनहरूको मूल्य बढने देखिएको नाडाले बताएको छ ।
नाडाका अनुसार सवारी साधनहरूको मूल्य स्थिरताको लागि सरकारले नेपाली रुपैयाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु थप व्यावहारिक हुने देखिन्छ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक भइसकेको र नेपाल कम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकासशील राष्ट्रमा परिणत हुँदै गरेको सन्दर्भमा नाडाले न्यूनतम रूपमा सवारी साधनहरूमा सरकारले थप कर वृद्धि नगर्ने अपेक्षा राख्दै आएको छ ।
नाडाले सदैव स्थिर कर नीतिको माग गर्दै आएको र सरकारले पनि खासगरी विद्युतीय सवारी साधनहरूका सन्दर्भमा प्रवद्र्धनात्मक नीलि लिनुपर्ने उसको भनाइ छ ।
सरकारले पूर्वाधार निर्माणमा ठूलो बजेट छुट्याउनु सकारात्मक भएको नाडाले बताएको छ । ‘यस बजेटले सभवतः नेपालको इतिहासमा झण्डै ३ खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै अधुरा रहेका सबै सडक र राजमार्गहरू यथा समयमै पूरा गर्ने प्रतिवद्धता समेत जनाएको छ। यसले सरकार पूर्वाधार निर्माणमा कटीबद्ध छ भन्ने स्पष्ट हुन्छ,’ नाडाले भनेको छ ।
दु्रतगतिको सडक पूर्वाधार निर्माणले नेपालको समग्र अटोमोबाइल व्यवसाय पनि गतिशील हुने नाडाको अपेक्षा छ । बजेट केही महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुनेमा कुनै सन्देह नरहेको नाडाको बुझाइ छ । बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी देखिएको नाडाको भनाइ छ ।


