जिली ईएक्स फाइभको मूल्य ३ लाखसम्म बढ्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा जिली ईएक्स फाइभ इलेक्ट्रीक एसयूभीको मूल्य बढेको छ । नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले जिली ईएक्स फाइभको मूल्य बढाएको हो ।

कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको २ लाख रुपैयाँ बढाएको हो । नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स फाइभ प्रो को मूल्य ६२ लाख रुपैयाँ पुगेको छ । यसअघि म्याक्स भेरियन्टको ७० लाख र प्रो भेरियन्टको ५८ लाख रुपैयाँ थियो ।

सरकारले बजेट मार्फत विद्युतीय सवारीमा नयाँ कर प्रणाली लागू गरेसँगै मूल्य समायोजना गरिएको कम्पनीले जनाएको छ । सरकारले यसअघि मोटर पिकपावरका आधारमा लगाउँदै आएको कर अहिले सीआइएफ मूल्यका आधारमा निर्धारण गर्छ । साथै, अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ । यो कर न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम १३० प्रतिशतसम्म लाग्छ ।

उक्त शुल्कका अतिरिक्त २० प्रतिशत भन्सार महसुल, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । अहिले पहिलाकोभन्दा धेरै कर लागेकाले लागतमा उल्लेखनीय वृद्धि भएको र मूल्य समायोजन गरिएको कम्पनीको भनाइ छ ।

मूल्य समायोजन भए तापनि ग्राहकहरूलाई उत्कृष्ट मूल्य, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठले सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको बताए ।

‘नयाँ कर व्यवस्थाले ग्राहकहरूको खरिद निर्णयमा केही प्रभाव पार्न सक्ने विषयमा हामी सचेत छौं । तथापि, सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको हो । एलआरआर मोटर्स उच्च गुणस्तरका विद्युतीय सवारीसाधन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक सहयोगमार्फत नेपाललाई दिगो र वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धतामा दृढ छ,’ उनले भने ।

जिली ईएक्स फाइभको दुवै मोडलमा १६० किलोवाटको मोटर छ । यसले दिने २१५ हर्सपावरले यो गाडी ६.९ सेकेण्डमै ० देखि १०० किलोमिटर गुड्ने क्षमता राख्छ ।

यी दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । ईएक्स फाइभको एकपटकको पूलचार्जम ५३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

ईएक्स फाइभकाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलईडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।

त्यस्नै, इन्टेरियरमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।

दुवै मोडलमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबिडी, ईएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् ।दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।


Back_to_top