बीएमडब्लूको सानो ईभीमै १ करोड ३० लाखले मूल्य बढ्यो

काठमाडौं । यसअघि १ करोड ९९ लाख ९६ हजार मूल्य कायम गरेर बिक्री हुँदै आएको बीएमडब्लू आइएक्स वानको मूल्य १ करोड ३० लाख रुपैयाँले वृद्धि भएको हो । आइएक्स वान कम्पनीको सुरुवाती मोडल हो ।

कम्पनीले जर्मनीबाट आयात गरेर बिक्री गर्दै आएको लक्जरी एसयूभी आइएक्स वानको मूल्य एकै पटक बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो ।

लक्ष्मी प्रिमियम मोटर्सले बिक्री वितरण गर्ने बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य सरकारको बजेटपछि ब्यापक वृद्धि भएको हो । यसअघि १८० किलोवाट क्षमताको मोटर पावरमा कर लाग्दै आएको एसयूभीमा मूल्यको आधारमा कर लाग्दा मूल्यमा ठूलो उथलपुथल भएको हो ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ईभीमा २० प्रतिशत भन्सार र २.५ देखि १३० प्रतिशतसम्म स्वच्छ निर्माण कर लगाएको थियो । मूल्यका आधारमा ५० लाख रुपैयाँ माथि सीआएएफ भ्यालू भएका कारमा लाग्ने माथिल्लो श्रेणीको कर आइएक्स वानमा लागेको कारण ब्यापक मूल्य बढेको हो ।

लक्ष्मी प्रिमियमले आइएक्स वानको अलावा अन्य मोडलमा पनि मूल्य वृद्धि भएको जानएको छ ।


Back_to_top