काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी ई-भिटारा विभिन्न ४ भेरियन्टमा उपलब्ध गराउने भएको छ । यसअघि कम्पनीले सुरुवाती भेरियन्ट डेल्टाको मात्रै मूल्य प्रकाशित गरेर बुकिङ खुलाएको थियो ।
सरकारले ल्याएको नयाँ बजेटले करको दरहरु परिवर्तन गर्दै मोटर पावरमा लाग्दै आएको कर हटाएर सीआइएफ मूल्यको आधारमा कर निर्धारण गर्ने भएसँगै सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले ४ वटै भेरियन्टको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार डेल्टा बाहेक अन्य तीन भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । सुरुवाती डेल्टामा भने ४९ किलोवाटको ब्याट्री पाउन सकिन्छ । डेल्टामा मोटर पनि १०८ किलोवाट क्षमताको पाउन सकिन्छ ।
डेल्टा भेरियन्टको इन्टोडक्टरी मूल्य भन्दै कम्पनीले ४९ लाख ९९ हजारमा बुकिङ लिएको थियो । यसको मूल्य भने ५२ लाख ९९ हजार कायम गरिएको कम्पनी स्रोतले बतायो । अब बजेटको नयाँ ब्यवस्था अनुसार कम कर लाग्ने भएसँगै डेल्टा भेरियन्टको मूल्य ४८ लाख ९९ हजार कायम गरिएको छ ।
इ भिटाराको जेटा भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री र १२८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । अब यसको मूल्य ५२ लाख ९९ हजार कायम गरिएको छ ।
अल्फा भेरियन्टको मूल्य ५८ लाख ९९ हजार छ । अल्फाकै ड्यूल टोन भेरियन्ट किन्नेले ५९ लाख ४९ हजार रुपैयाँमा पाउने छन् । यसअघि ६४ लाख ४९ हजारसम्म पर्ने ई भिटाराको ठूलो ब्याट्री र मोटर भएका सबै भेरियन्टमा ५ लाख रुपैयाँले मूल्य घटाइएको कम्पनीको दावी छ ।
मूल्यका विषयमा सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरी भन्छन्, ‘सरकारले इलेक्ट्रीक सवारी साधनलाई थप सुलभ ठाँउ सृजना गर्छ, त्यो सुविधा ग्राहकसम्म बिना कटौती पुर्याउनु हाम्रो दायित्व हो । आंशिक होइन । नाफा जोडेर होइन । पूर्णतः ।’
यस्तो छ ई-भिटारा
ई-भिटाराको लम्बाइ ४२७५ एमएम छ । यसको चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम तथा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा १८ इन्चको ह्वील पाउन सकिन्छ ।
मारुती सुजुकीले ई-भिटारामा धेरै प्रकारका अत्याधुनिक फिरचहरू छन् । एसयूभीको एक्सटेरियरको फ्रन्टमा क्लोजअफ ग्रिल, एलइडी हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट र कनेक्टेड टेल लाइट पाउन सकिन्छ । सुजुकीले यसमा ठूलो पानारोमिक सनरुफ दिएको छ ।
ई-भिटाराको इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।
हर्मन कार्डनको अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट, रिक्लाइन स्लाइडिङ र स्प्लीट रियर सिट, इको नर्मल र स्पोट्स ड्राइभ मोड, स्नो मोड, वान पेडल ड्राइभिङ मोड पाउन सकिन्छ ।
मारुती सुजुकीले ई-भिटारामा लेभल २ एडास फिचर दिएको छ । यसका अलावा ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर रहने छ । रियर डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड फङ्सन, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायतका सुरक्षा फिचर रहेका छन् ।


