हिरो एक्सपल्स ४२१ को उच्च हिमाली क्षेत्रमा परीक्षण हुँदै

काठमाडौं । हिरो मोटोकर्पले निर्माण गरिरहेको नयाँ मिड क्यापासिटी एड्भेन्चर मोटरसाइकल एक्सपल्स ४२१ परीक्षणका क्रममा देखिएको छ ।

कम्पनीले मोटरसाइकललाई भारतको लद्दाखस्थित विश्वकै उच्च मोटरेबल पासमध्ये एक खारदुंग लामा परीक्षण गरिरहेको हो । कम्पनीले यो मोटरसाइकल केही समय अघि सहरी क्षेत्रमा परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा सार्वजनिक भएका नयाँ स्पाइ तस्बिरहरूमा पूरा क्यामोफ्लाज गरिएको टेस्ट म्युल अन्य हिरो मोटरसाइकलहरूसँग पार्क गरिएको देखिन्छ । यसले कम्पनीले नयाँ एड्भेन्चर प्लेटफर्मलाई कठिन भौगोलिक तथा मौसमीय अवस्थाहरूमा परीक्षण गरिरहेको संकेत देखाएको हो ।

खारदुंग ला जस्तो स्थानमा अत्यन्त कम अक्सिजन, चिसो मौसम, उकालो बाटो र अफ रोड भूभाग पाइन्छ । यस्ता परिस्थितिमा इन्जिनको कार्यक्षमता, कुलिङ सिस्टम, सस्पेन्सन तथा समग्र टिकाउपनको परीक्षण गरिन्छ ।

क्यामोफ्लाजका कारण सम्पूर्ण डिजाइन स्पष्ट नभए पनि केही महत्त्वपूर्ण विवरणहरू देखिएका छन् । नयाँ एक्सपल्स एड्भेन्चर टुरिङ शैलीको अग्लो डिजाइनमा छ । यसमा ठूलो विन्डस्क्रीन, ह्याण्ड गार्ड, लामो सिंगल पिस सिट, वायर स्पोक ह्वील, लामो ट्राभल सस्पेन्सन, पछाडि लगेज र्याक र हाई माउन्टेड एक्जस्ट दिइएको छ ।

साथै, मोटरसाइकलको अगाडिको भाग र्याली स्टाइल एड्भेन्चर मोटरसाइकलबाट प्रेरित देखिन्छ । साथै, ककपिटमा ठूलो टीएफटी डिस्प्ले पनि देखिएको छ, जसमा नेभिगेसन तथा स्मार्ट कनेक्टिभिटी फिचर उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

एक्सपल्स ४२१ मा हिरोले विकास गरिरहेको नयाँ ४२१ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६, एफआई इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले आधिकारिक स्पेसिफिकेसन सार्वजनिक गरेको छैन । तर मिडिया रिपोर्ट अनुसार मोटरसाइकलमा दिइएको इन्जिनले करिब ४० देखि ४५ पीएस पावर जेनेरेट गर्न सक्ने अनुमान छ ।

यसका अलावा मोटरसाइकलमा यूएसडी फ्रन्ट फोर्क, रियर मोनोसक सस्पेन्सन, डुअल च्यानल एबीएस सिस्टम, राइड बाइ वायर थ्रोटल, विभिन्न राइडिङ मोडहरू र अफरोड मोड, ट्रयाक्सन कन्ट्रोल लगायतका फिचरहरू हुने अनुमान गर्न सकिन्छ ।

हिरोले यसअघि नै ठूलो क्षमताको एड्भेन्चर मोटरसाइकल ल्याउने योजना पुष्टि गरिसकेको छ । कम्पनीले इक्मा २०२४ मै यस मोडलको स्केचसमेत सार्वजनिक गरेको थियो ।

हिरो मोटोकर्पले हालसम्म आधिकारिक रूपमा लन्च मिति घोषणा गरेको छैन । तर परीक्षणको तीव्रतालाई हेर्दा मोटरसाइकल नोभेम्बरमा हुने इक्मा २०२६ मा सार्वजनिक हुन सक्ने र त्यसपछि आगामी वर्ष बजारमा ल्याइने सम्भावना रहेको छ ।


Back_to_top