काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी साउनदेखि संचालनमा ल्याइने भएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले साउनदेखि सुरुङमा गाडी चलाउने आवश्यक आन्तरिक तयारी थालेको हो ।
सुरुङमार्ग निर्माण, सेवाप्रदायक छनोट लगायत काम यसअघि नै सकसिकेको छ । हाल सुरुङमार्गमा खटाइने जनशक्ति व्यवस्थापन, सुरुङ परीक्षण लगायत काम भइरहेको छ ।
आयोजनाका निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग संचालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए । उनका अनुसार सुरुङमार्गको पश्चिम पोर्टल धादिङतर्फ पहिरो नियन्त्रण बाहेक अरु सबै काम सम्पन्न भइसकेको छ ।
हाल सुरुङमार्ग भित्र हुने उद्धार र सवारी व्यवस्थापन बारे आवश्यक परीषण भइरहेको छ । ‘सुरुङमार्ग भित्रका सबैजसो काम सकिसकेको छ। सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ । सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काम मात्रै बाँकी छ,’ उनले भने ।
उनले सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट उठाइने टोल दस्तुर संकलन गर्न बैंकको छनोट र कार्ड छाप्ने लगायत प्रक्रिया अघि बढेको जानकारी दिए । उनका अनुसार आयोजनाले नागढुंगा-नौबिसे सुरुङमार्गमा गुड्ने सवारीले तीन तरिकाबाट शुल्क तिर्न सक्नेछन् । चालकले नगदै, क्यूआर कोड स्क्यान गरेर र सवरीमा विशेष किसिमको कार्ड टाँसेर अटोमेटिक रुपमा शुल्क तिर्न सक्नेछन् ।
नागढुंगा-नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो छ । उक्त सुरुङ ५ वर्षसम्म २४सै घण्टा संचालन गर्न युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँमा ठेक्का पाएको छ । ५ वर्षसम्म सोही कम्पनीले सुरुङमार्गको रेखदेख, मर्मत सम्भार गर्नुपर्नेछ ।

सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदारको ढिलासुस्ती, कोरोना, स्थानीयको अवरोध लगायत कारण ३ वर्ष पछि धकेलिएको हो । नागढुंगा सुरुङ जापान सरकारको ऋण अनुदानमा निर्माण भएको हो । यसको लागत करिब २३ अर्ब रहेको छ ।
हाल नागढुंगा नाका हुँदै दैनिक औसतमा दुई पाँग्रे बाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । तीमध्ये करिब ६० प्रतिशतले सुरुङ प्रयोग गर्ने अनुमान गरिएको छ । उक्त सुरुङ संचालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
कति लाग्छ शुल्क ?
सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि गत साउन २६ गते वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

हाल सडकबाट गुड्ने सवारीमध्ये ५०/६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने आकलन गरिएको इन्जिनियर पन्थीले बताए । यदि आधा सवारीले मात्र सुरुङ प्रयोग गरेमा संचालन खचए उठ्ने देखिएको उनको भनाइ छ ।
सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।
निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।
सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।


