बिटुमिन अभावले २ महिनादेखि रोकियो धुलिखेल-खावा सडकको काम

फाइल तस्बिर

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डको काम २ महिनादेखि बन्द भएको छ । कालोपत्रका लागि बिटुमिन अभाव हुँदा सडक निर्माणको काम रोकिएको हो ।

४ किलोमिटर लामो यो सडकको २.५ किमी गत चैतमा पहिलो चरणको कालोपत्र गरिएको थियो । त्यसपछि ‘बिटुमिन’ अभावका हुँदा बाँकी कामले गति लिन नसकेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले दुई महिनादेखि ‘बिटुमिन’ अभावका कारण बाँकी कामले गति लिन नसकेको बताए ।

उनले पहिलो चरणमा डीबीएम–कालोपत्र गरिए पनि ‘आस्फाल’ थप्ने कार्य बाँकी रहेको बताए । उनले ४ किमी मध्ये बाँकी १.५ किमी पनि वैशाख पहिलो सातादेखि कालोपत्र गर्ने योजना बनाइए पनि कच्चा पदार्थको अभावका कारण दुई महिनादेखि काम रोकिएको बताए ।

हाल यात्रालाई सहजता दिन पक्की गर्न बाँकी दूरीमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको योगेशले बताए । उक्त खडकखण्डको बाँकी १.५ किमी बिटुमिन आयात भएपछि दोस्रो चरणमा पक्की बनाइने योगेशको भनाइ छ । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशले बताए ।

यो सडक जमिनको सहतदेखि ५५ सेन्टिमिटर बाक्लो हुनेछ । जसमा विभिन्न ५ तह रहने छ । जमिनको सतह माथि २० सेन्टिमिटर बाक्लो सबबेस, १५ सेन्टिमिटर बाक्लो सिमेन्ट सीटीबी, १० सेन्टिमिटर बाक्लो ‘वेट मिक्स’राखिनेछ । त्यसपछि दुई चरणमा १० सेन्टिमिटर बाक्लो कालोपत्र गरिने छ । जसमा पहिलो चरणमा ६ सेन्टिमिटर डीबीएम ९डेन्से बिटुमिनस म्याकाडम० गरिन्छ । अन्तिममा सो माथि ४ सेमि बाक्लो अस्फाल्ट कालोपत्र गरिने छ ।

लामो समयसम्म निर्माण व्यवसायीको लापर्वाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नति कार्यलाई तीव्रता दिइएको थियो ।

यो सडकको नयाँ ठेक्का आगामी पुस मसान्त भित्र काम सक्ने गरी सी-एन ए-वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा पाएको छ ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशत मात्रै काम सकिएपछि डिभिजनले २०८१ फागुन १५ गते गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रुपमा रहेको छ ।


Back_to_top