वर्षायाममा गाडी चलाउँदा ख्याल गर्नैपर्ने ७ कुरा

काठमाडौं । नेपालमा मनसुन सिजन सुरू हुन लागेको छ । यो सिजनमा जतिसुकै बेला पानी पर्छ सक्छ । कहिलेकाहीँ अति भारी वर्षा समेत हुने गरेको छ । कतिपय अवस्थामा वर्षाका कारण बाढि, पहिरो आउँदा सवारी आवगमन ठप्प समेत हुने गरेको छ ।

नेपालको सबै सडक कालोपत्र छैन । सहरी क्षेत्रबाहेक धेरै जसो स्थानमा अहिले ग्राभेल र कच्ची सडकमा यात्रा गर्नुपर्ने बाध्याता छ । वर्षायाममा त्यस्ता सडकमा सवारी चलाउन झनै कठिन हुन्छ । सडकमा जताततै पानी जमेको, हिलो, चिप्लो हुन्छ । कालोपत्र सडकमा पनि पानी परिरहेको बेला सवारी चलाउन असहज नै हुन्छ ।

वर्षायाममा सडकमा हुने हिलो र चिप्लोले सवारी दुर्घटना हुने जोखिम समेत हुन्छ । त्यसैले वर्षामा अरू समयभन्दा पनि धेरै होसियारी पूर्वक सवारी साधन चलाउनु पर्छ । यहाँ हामीले वर्षामा सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरू बारे चर्चा गरेका छाैं ।

१.सवारी साधनको प्राविधिक जाँच : सवारी चलाउँनु अघि सधैं प्राविधिक जाँच गर्नुपर्छ । त्यसमा पनि वर्षायाममा अझ धेरै ध्यान दिनुपर्छ । गाडी चलाउनुअघि वाइपर, टायर, ब्रेक, लाइटहरू चेकजाँच गर्नुपर्छ । वाइपर साम्रोसँग चल्ने हुनुपर्छ । वासर ट्यांकीमा सफा पानी वा विन्डस्क्रीन क्लिनर सधैं भरेर राख्नुहोस् ।

गोटी खिइसकेको टायर चिप्लिने सम्भावना धेरै हुन्छ । त्यसैले ग्रिप भएको टायर प्रयोग गर्नुपर्छ । साथै, टायरमा हावाको प्रेसर पनि सही मात्रामा हुनुपर्छ । यदि टायरमा हावाको प्रेसर कम भएमा गाडी हल्लिने र बढी भएमा गाडी उफ्रने हुन सक्छ ।

त्यस्तै, भिजेको सडकमा ब्रेक लाग्न बढी समय लाग्छ । त्यसैले यात्रामा निस्कनु अघि ब्रेकको प्रभावकारिता जाँच गर्नुहोस् । तपाईंको गाडी अन्य चालकहरूले स्पष्ट देख्न सकून् भनेर गाडीको हेडलाइट, टेललाइट, फगलाइट र इन्डिकेटरहरू दुरुस्त हुनुपर्छ ।

२. मौसम र सडकको जानकारी लिने : वर्षायाममा सकेसम्म धेरै लामो दुरीको यात्रा नगनुहोस् । गर्नै परे पनि २/४ दिनको मौसम कस्तो हुन्छ, त्यो जानकारी लिएर मात्र हिँड्नुहोस् । वेदर फोरकास्ट वा मौसव विभागको बुलेटिन हेर्नुहोस् । ताकि, वर्षाका कारण बीचबाटोमा अलपत्र पर्नु नपरोस् ।

त्यस्तै, आफू जाने सडकको अवस्था बुझ्नुहोस्। बाढीपहिरोले कतै अवरुद्ध छ छैन जानकारी लिनुहोस् । नेपाल, ट्राफिक प्रहरी वा सम्बन्धित जिल्लाका प्रहरी अधिकारीसँग बाटोको अवस्था बुझ्न सकिन्छ ।

३. बाटोको अवस्था ख्याल गर्न : वर्षायाममा सवारी चलाउँदा सडकको अवस्था विशेष ख्याल गर्नुपर्छ । हिलो, चिप्लो ठाउँमा विस्तारै चलाउनुपर्छ । पानी जमेको खाल्डाखुल्डी देखियो भने सिधै सवारी हाल्नु हुँदैन । किनभने त्यो खाल्डोमा कति पानी जमेको छ थाहा हुँदैन । त्यस्तोमा आफूभन्दा ठूलो सवारी गएपछि मात्रै आफू जानु राम्रो हुन्छ ।

धेरै पानी जमेको ठाउँमा गाडी हाल्दा इन्जिनमा पानी पसेर हाइड्रोलिक लक गराउन सक्छ । पानी जमेको सडक पार गर्नु पर्दा गाडीलाई पहिलो वा दोस्रो गियरमा राखेर एक्सिलेटरलाई एउटै गतिमा थिचिरहनुहोस्, जसले गर्दा साइलेन्सर पाइपबाट पानी भित्र पस्न पाउँदैन । हिलोबाट निस्किएपछि पनि विस्तारै ब्रेक थिच्दै गाडी गुडाउनुहोस् । जसले गर्दा ब्रेक प्याडमा लागेको पानी सुक्छ र ब्रेकले पुनः राम्रोसँग काम गर्न थाल्छ । त्यस्तै, सडकमा कतै लुब्रिकेन्ट पोखिएको देखेमा सकेसम्म त्यसलाई छलेर हिँड्नु राम्रो हुन्छ । मोड, उकालो–ओरालो र पुलमा थप सावधानी अपनाउनुहोस्।

४. कम गति र दुरी कायम गर्ने : वर्षायाममा तीव्र गतिमा सवारी चलाउनु हुँदैन । बाटो चिप्लो हुने हुँदा गाडीको गति सामान्यभन्दा कम राख्नुपर्छ । साथै, दूरी कायम गरेर सवारी चलानुहोस् । ताकि अचानक ब्रेक लगाउनु पर्दा पर्याप्त समय र ठाउँ मिलोस् । हिलो चिप्लो बाटोमा ओभरटेक गर्ने गल्ती बिर्सिएर पनि गर्नु हुँदैन ।

५. सवारी चलाउँदा लाइटहरू बाल्ने : वर्षायाममा कहिले काहीँ बाक्लो कुहिरो लाग्ने र भारी पानी पर्छ । त्यस्तो बेला वाइपरले पनि पानी काट्न सक्दैन । अगाडि बाटो स्पष्ट देखिँदैन । यस्तो अवस्थामा सकेसम्म गाडी नचलाउँदा राम्रो हुन्छ । यदि चलाउनै परे पनि हेडलाइट (लो बिम) बाल्नु पर्छ । यसो गर्दा अगाडिको बाटो पनि देखिन्छ र विपरीत दिशाबाट आएको सवारीले आफ्नो गाडी देख्छ । जसले दुर्घटना हुने सम्भावना कम हुन्छ ।

त्यस्तै, भारी वर्षाका कारण सवारी रोकेर बस्नु पर्यो भने सधैं सडकको साइड च्यापेर रोक्नुपर्छ । रोक्दा पनि साइड लाइट बालेर बस्नुपर्छ । जहाँ आइरहेका अन्य सवारीले सहजै अगाडि गाडी छ भन्ने देखुन् । त्यस्तै, कुहिरो लागेको छ भने फग लाइट बालेर गाडी चलाउनुपर्छ ।

६. सकेसम्म इमरजेन्सी ब्रेक नलगाउने : प्रायः सधैं सवारी चलाउँदा सकेसम्म इमरजेन्सी ब्रेक लगाउनु हुन्न । वर्षायाममा त झनै हुँदैन । चिप्लो सडकमा अचानक ब्रेक थिच्दा गाडी नियन्त्रण बाहिर जान सक्छ । ब्रेक विस्तारै र गियर डाउन गरेर लगाउने प्रयास गर्नुहोस् । कम गतिमा चलाउँदा इमरजेन्सी ब्रेक लगाउनुपर्ने अवस्था कमै मात्रमा आउँछ ।

७. अत्यावश्यक सामग्री बोक्ने : वर्षायाममा यात्रा गर्दा छाता, रेनकोट, सामान्य खानेकुरा (ड्राइफूड), पानी लगायत अत्यावश्यक सामग्री बोक्नुपर्छ । ताकि, कुनै कारण बीचबाटोमै रोकिनु पर्यो भने पनि केही समयका लागि सहज हुन्छ । साथै, केही आपत पर्यो भने खबर गर्न प्रहरी, सम्बन्धित सरकारी निकायको फोन नम्बर पनि राख्नुहोस् ।


Back_to_top