काठमाडौं । जेएसडब्लू एमजी इन्डियाले उत्पादन गरेको विन्डसर ईभी भारतमा निकै सफल छ । नेपाल आएको झण्डै १० महिना भए पनि यसको बिक्री आक्रमक बन्न सकेको थिएन ।
अहिले जीओ अटोमोबाइल्सले आधिकारिक बिक्री वितरणको जिम्मा पाएको विन्डसर ईभी एमपीभीलाई क्रसओभर मोडलको रूपमा ल्याएको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले यसको क्याबिन निकै ठूलो लाग्छ ।
अहिले विभिन्न ३ भेरियन्टमा उपलब्ध विन्डसर ईभी हाम्रो सडक सुहाउँदो मोडल हो । तर, धेरैले यसको अगाडिको डिजाइनमा प्रश्न गर्छन् । अगाडिको दुई स्टेपमा तयार भएको बोनेट अन्य कारभन्दा फरक देखिन्छ ।
एमजी विन्डसरलाई हामीले काठमाडौं उपत्यकाको सहरी क्षेत्र र वरपरका डाँडाहरूमा पनि चलाएर हेरेका थियौं । यसरी चलाउँदा हल्का कच्ची बाटोदेखि उकालोमा पनि निकै राम्रो पर्फमेन्स पाएका थियौं । त्यसैले हाम्रो ड्राइभिङ अनुभवका आधारमा विन्डरका विविध पाटोका बारेमा यहाँ चर्चा गरिएको छ ।
ठूलो साइज
विन्डसर ईभीको लम्बाइ ४२९५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १६७७ एमएम छ । जुन एउटा क्रसओभर एसयूभीमा पाइने साइज हो । यसमा १८६ एमएम अग्लो ग्राउण्ड क्लियसेन्स छ । यसले हाम्रा सडकमा भएका खाल्डाखुल्डीमा गाडी चलाउन सजिलो बनाएको छ ।

यात्रु बोक्नकै लागि बनाइएको जस्तो लाग्ने ५ सिट क्षमताको विन्डसर ईभी कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) सेग्मेन्टमा उपलब्ध छ । यसको पछाडिको सिट फोल्ड गर्न मिल्छ भने ६०० लिटर माथिको बुट स्पेशले यात्रा गर्न निकै सहज बनाउँछ ।
शहर र हाइवे दुवैको लागि राम्रो
उपत्यका वरपर नै चलाएको कारण हामीले धेरै ड्राइभिङ अनुभव गर्न सकेनौं । तर, जति चलाइयो, त्यसले नै शहर होस् वा हाइवे दुवै स्थानको लागि यो गाडी पर्फेक्ट लाग्छ ।
खाल्डाखुल्डी, घुमाउरो स्थान र राम्रो कालोपत्र भएको स्थानमा चलाएको कारण विन्डसर सबैखाले स्थानको लागि उपयुक्त मोडल मान्न सकिन्छ ।
गाडीको एक्सेलेरेसनको सुरूवाती रेस्पोन्स, ब्रेकिङ सिस्टम र सस्पेन्सन सेटअप निकै राम्रो छ । तीव्र गतिमै घुम्ती भएका बाटाहरूमा गाडी चलाउँदा हल्का बडी रोल महसुस हुन्छ । तर, टायरको सहयोग राम्रो पाउन सकिन्छ ।
१०० किलोवाटको इलेक्ट्रीक मोटर र त्यसको पीकटर्क २०० न्युटन मिटर रहनु उत्कृष्ट छ । चिल्ला सडकमा यसको पर्फमेन्स निकै लोभलाग्दो छ ।
एमजीले यसमा स्टारस्ट्रिक एलईडी लाइटको प्रयोग गरेको छ । स्मार्टफ्लो टेल लाइटको प्रयोग पनि निकै आकर्षक लाग्छ । साथै, रातिको समयमा चलाउन थप सुरक्षित पनि बनाएको छ ।
ब्याट्री र चार्जिङ
एमजी विन्डसरमा ३८ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले २६० किलोमिटर माथि नै वास्तविक सडकमा रेन्ज दिने देखियो ।
यसमा रहेको ब्याट्रीलाई ५० किलोवाटसम्मको डीसी चार्जरले चार्ज गर्न सकिन्छ । यसलाई ७ किलोवाटको एसी फास्ट चार्जर पनि सपोर्ट गर्छ ।
कम्फर्ट
कुनै पनि कारको सबैभन्दा बलियो स्ट्रेन्थ सिट हुन्छ भन्नु न्यायोचित हुन्न । तर, एमजी विन्डसरको सबैभन्दा बलियो पक्ष सिट हो । यसमा ‘एरो लान्ज सिट’ प्रयोग गरिएको छ । हेर्दा नै आरामदायी लाग्ने यसका सिटहरू बस्दा आनन्द प्राप्त गर्न सकिने खालको छ ।
ड्यासबोर्डमा दिइएको १५.६ इन्चको स्क्रीन, एसीको लागि फिजिकल बटन, अगाडिको सिट भ्यान्टिलेटेड दिएको छ । यसले चालक र यात्रुको लागि सहज बनाउने नै भयो । पछाडि बस्ने यात्रुले ठूलो प्यानोरामिक ग्लास रुफ खोलेर बाहिरको मनोरम दृष्य हेर्न सक्छन् ।
पछाडि दिइएको लेगरुम र हेडरुम पनि अब्बल छ । त्यसैले विन्डसरलाई आफैँ चलाउने कारभन्दा चालक राखेर यात्रा गर्ने गाडीको रूपमा धेरैले खरिद गर्दै आएका छन् ।
निष्कर्ष
विन्डसर ईभी एउटा प्याकेज हो । जसलाई चालकलेभन्दा यात्रुले धेरै इन्जोइ गर्न सक्छन् ।
औसत रेन्ज, प्रशस्त स्पेस र राम्रो प्रविधिसहितको फिचर लोडेड मोडल भएको कारण हाइवेमा हिँड्ने र शहरमा चलाउने दुवैको लागि विन्डसर पर्फेक्ट मोडल बन्न सक्छ ।
जीओ अटोमोबाइलले विन्डसरको एक्साइट भेरियन्टको मूल्य ३९ लाख ७५ हजार, एजुकेटिभ भेरियन्टको ४२ लाख ४९ हजार र इसेन्स भेरियन्टको ४४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
भारतीय उत्पादन भएको कारण पार्ट्स लगायतका कुरामा थप सहज हुने अनुमान गर्न सकिन्छ ।


