काठमाडौं । आजबाट नेपाली बजारमा ओरा फाइभ इलेक्ट्रीक एसयूभी बिक्री सुरू हुने भएको छ । ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले दुई भेरियन्टमा बिक्री सुरू गर्न लागेको हाे ।
ओरा फाइभ नेपाली बजारमा विल्कुलै पृथक डिजाइनको एसयूभी हुनेछ । मूल्यको हिसाबले ४७ लाखदेखि ५३ लाख रुपैयाँ भित्रै रहने अनुमान गरिएको ओरा फाइभ आफ्नो रेट्रो लुक, गोलाकार हेडलाइट, स्मूद बडी लाइन र सफा रियर प्रोफाइलको कारण प्रतिस्पर्धीभन्दा भिन्न छ ।
रेट्रो-फ्युचरिस्टिक डिजाइन, प्रिमियम क्याबिन, एडास सुरक्षा फिचर र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरसहित आएको यो मोडललाई बीवाइडी एटो थ्री र एमजी एस फाइभ जस्ता गाडीको प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
ओरा फाइभको डिजाइन ब्रान्डको ‘क्याट फ्यामिली’ स्टाइलिङबाट प्रभावित छ। गोलाकार हेडलाइट, स्मूद बडी लाइन, सफा रियर प्रोफाइल र एसयूभी लुकले यसलाई परम्परागत एसयूभीभन्दा फरक पहिचान दिएको छ।
४,४७१ एमएम लम्बाइ र २,७२० एमएम ह्वीलबेस भएको एसयूभी साइजका हिसाबले कम्प्याक्ट भए पनि रोड प्रेजेन्समा निकै परिपक्व देखिन्छ। यसमा २०० एमएम अग्लाे ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपाली सडककाे लागि निकै उपयाेगी हुनेछ ।
क्याबिन ओरा फाइभको बलियो पक्षमध्ये एक हो। यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च फ्लोटिङ टचस्क्रीन, कफी ओएस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ, प्यानोरामिक ग्लास रूफ र प्रिमियम फिनिससहितको लेआउट दिइएको छ।
सुरक्षाको हिसाबले पनि ओरा फाइभलाई बलियो बनाएको छ। यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्निसन र ५४० डिग्री क्यामेरा जस्ता फिचर छन्। टप भेरियन्टमा लाइडारमा आधारित ड्राइभर असिस्ट सिस्टम (एडास) छ।
पावर ट्रेनतर्फ, ओरा फाइभमा १०० किलोवाट क्षमताको मोटर छ । उक्त माेटरले २६० न्यूटन मिटर पीकटर्क जेनेरेट गर्छ । यसमा एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ। ब्याट्री साइज ५८.३ किलोवाट आवरकाे छ । यसकाे रेन्ज पनि राम्राे छ । सिंगल चार्जमा डब्लूएलटीपी रेन्ज ४३५ किलाेमिटर प्रमाणित भएकाे छ ।
समग्रमा हेर्दा ओरा फाइभ केवल नयाँ ईभी एसयूभी मात्र होइन, ओरा ब्रान्डलाई ह्याचब्याक इमेजबाट बाहिर निकालेर प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा स्थापित गर्ने प्रयास पनि हो। डिजाइन, इन्टेरियर, टेक्नोलोजी र सुरक्षा फिचरका आधारमा नेपाली बजारमा राम्रो चासो तान्न सक्ने माेडल देखिन्छ।
ओरा फाइभमा ७ एयरब्याग, ९ स्पीकर, वेलकम सिट, भ्यान्टिलेटेड सिट, स्पेयर टायर र हिडन रियर वाइपर पनि पाउन सकिन्छ ।


