चालु आवको जेठसम्म भित्रिए साढे १५ हजार कार, ईभी १९ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म साढे १५ हजार युनिट कार आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म कुल १५ हजार ४६६ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।

गत आवको ११ महिनाको तुलनामा चालु आवमा समग्र कार आयातमा १०.३५ प्रतिशत अर्थात् १७८६ युनिट कम भएको छ । गत वर्ष जेठसम्म कुल १७ हजार २७२ युनिट कार आयात भएको थियो ।

चालु आवमा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व पाएको छ । गत आवको ११ महिनामा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरको सवारी आयात भएको छ ।

ईभी आयात घट्यो

चालु आवमा विद्युतीय कार आयातमामा १९.२७ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ११ महिनामा १३ हजार ४९२ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ ।

चालु आवमा कुल २५ अर्ब ६८ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ ।

गत आवको तुलनामा चालु आवमा बजेट अघि ठूलो संख्यामा कार आयात नहुँदा समग्र आयातमा प्रभाव परेको हो । यद्यपि, यस वर्ष पनि जेठ महिनामा मात्रै २ हजार युनिट ईभी आयात भएको छ । गत वर्ष जेठमा ३ हजार बढी ईभी आयात भएका थिए । ती कार अझै बिक्री भइसकेका छैनन् ।

चालु आवमा ५० किलोवाटसम्मका ३६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६३५७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७९८ र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।

पेट्रोल कार आयात भने बढ्यो

चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने वृद्धि देखिएको छ । ११ महिनाको अवधिमा ४ हजार ५७४ युनिट पेट्रोल कार आयात भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा २१.६२ प्रतिशत धेरै हो । गत वर्ष जेठसम्म कुल ३ हजार ७६१ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । यद्यपि, पछिल्लो समय इरान युद्धका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयात सुस्ताएको छ ।

पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ११ महिनामा कुल ४५७४ युनिट पेट्रोल कार आयात हुँदा २०९६ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।

नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


Back_to_top