काठमाडौं । अब कुनै पनि सडकमा तोकिएको गति सीमा (स्पीड)भन्दा कम गतिमा सवारी साधन चलाएमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्ताविक विधेयकको दफा ६२ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था रहेको छ । जसमा तोकिएकोभन्दा धेरै गति र कम गतिमा सवारी चलाएमा जरिवाना तोकिएको छ ।
सवारी साधनको लागि तोकिएको सडक क्षेत्रमा निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा कम गतिमा सवारी चलाएमा ३ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ ।
यो व्यवस्था अनुसार कुनै पनि सडकमा न्यूनतम गति सीमा जति तोकिएको छ, सोभन्दा कम गतिमा सवारी चलाउन पाइँदैन । उदाहरणका लागि कुनै सडकमा न्यूनतम गति प्रतिघण्टा ४० किमी तोकिएको छ भने सोभन्दा कम गतिमा सवारी चलायो भने जरिवाना तिर्नुपर्छ ।
त्यस्तै, तोकिएको सीमाभन्दा बढी गति (ओभर स्पीड)मा सवारी चलाएमा पनि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । दुईपाँग्रे र तीनपाँग्रे सवारीको हकमा २५ हजार, साना चारपाँग्रे सवारीलाई ३५ हजार र मझौला तथा ठूला सवारीलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । तर, निर्धारण गरिएको गति सीमाभन्दा ५ प्रतिशतसम्म बढी भएकोमा जरिवाना लाग्ने छैन ।
सवारीको गति निर्धारण गरिएको सीमाभन्दा २० प्रतिशतसम्म बढी भएमा २० प्रतिशत, २० देखि ४० प्रतिशतसम्म ४० प्रतिशत, ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म भएमा ६० प्रतिशत र ६० प्रतिशतभन्दा बढी स्पीड भएमा शतप्रतिशत जरिवाना लाग्नेछ ।
प्रस्तावित विधेयकको मस्यौदा पूर्वाधार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ । कानुनको सहमति प्राप्त भएपछि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदमा पुग्नेछ ।
कुनै विधेयक संघीय सदनका दुवै संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि मात्रै कानुनको रूप लिन्छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने छ ।


